राजनीति

प्रस्तावित प्रधान न्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको आगामी बुधबार संसदीय सुनुवाइ गर्ने भएको छ।

समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतका सम्बन्धमा उजुरीकर्ताहरूसँग भोलि छलफल गर्ने निर्णय गरेको हो। उनीविरुद्ध ६ वटा उजुरी परेका छन्। गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतद्वय सेवा लम्साल र चित्रलेखा यादवविरुद्धका उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गर्दैछ। उहाँहरूविरुद्ध दुईवटा उजुरी परेका छन्।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो। समितिले सोमबार उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदूत यादवको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ। बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको भने कार्ययोजना प्राप्त हुन बाँकी छ।

यस्तै, समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ।

न्याय परिषद्ले निरौला र पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समितिसमक्ष सूचना पठाएको थियो।

प्रकाशित: १४ आश्विन २०८१ १६:५१ सोमबार

#Prakashman Sing