राजनीति

मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन

मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक÷एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ।

मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो।

आइतवार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको  मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।

मुख्यमन्त्री सिंहले भने, ‘मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्रीको अगुवाइमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेसको कुन वडामा कति क्षति भएको छ, वडास्तरीय क्षतिका विवरण ल्याउन निर्देशनसमेत दिइएको छ।’

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कङ्कालनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए।

उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए।

मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए। रासस

प्रकाशित: १४ आश्विन २०८१ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App