राजनीति

विद्यार्थी कार्यकर्तालाई दाहालले भनेः तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी निकट विद्यार्थीहरूलाई सडकबाट साथ दिन आह्वान गरेका छन्।  

बिहीबार माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।  

‘तपाईँहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं । जस्ताको तस्तै सुनिश्चित गर्न सकिन्छ,’ अध्यक्ष दाहालले भने,‘हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको झण्डै दुई तिहाइको सरकारलाई आफूले रक्षात्मक स्थितीमा पु¥याएको दाहालले दाबी गरे। ‘दुई तिहाइहरूलाई रक्षात्मक पोजिसनमा धकेलेका छौं। हामी जितको पक्षमा छौं’, उनले भने।

आफूले प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध जेहाद छेडेपछि संख्याको बलमा आफूलाई हटाएको अध्यक्ष दाहालले दाबी गरे। उनले भने, ‘भ्रष्टाचारका विरुद्ध हामीले महाअभियान छेडेकै हो। भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याएकै हो। नेपालको इतिहासमा यति धेरै हाई–प्रोफाइल नेता र कर्मचारी कारबाहीको दायरामा आएको इतिहास कहिल्यै थिएन। त्यसैले संख्याका बलमा हामीलाई हटाइएको छ।’

प्रकाशित: १० आश्विन २०८१ १८:३९ बिहीबार

#puspakamal dahal