राजनीति

रास्वपा पर्साको विरोध प्रदर्शन: दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रवि लामिछानेलाई सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन विपरीत धरपकड गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

मंगलबार दिउँसो पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्श नगरबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानु बाबु अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले उक्त पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाए।

"रवि निर्दोष छन्", "राजनीति पूर्वाग्रह नसाध," "८७ अर्ब ठगीको असली दोषीलाई कारबाही गर" लेखिएको प्लेकार्डसहित जुलुसले माई स्थानमा पुगेर कोणसभा समेत आयोजना गर्‍यो।

कोणसभामा बोल्दै जिल्ला सभापति पन्तले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन चेतावनी दिए। उनले भने, “यदि सरकारले जनताको आवाज नसुनेमा नेपाली जनताले श्रीलङ्का र बङ्गलादेशजस्तै २०८४ अघि नै सत्ता कब्जा गर्ने छन्।”

उनले सत्ता स्थायी नहुने र जनताले सबै गतिविधि नजिकबाट नियालिरहेको हुँदा यसको हिसाब चाँडै गरिने बताए।

सभामा रास्वपाका क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाद मिया, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार विभागका प्रदेश प्रमुख राम शरार्फ, संगठन तथा शिक्षा विभाग प्रमुख राम प्रमोद रायमाझी, राम आर्य सोनाला पटेल, माधव बस्नेत, उमेश यादव, चन्दन गुप्ता, प्रदीप पटेल लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। 

सभालाई केन्द्रीय सदस्य डा. नन्दन यादव र पूर्व संयोजक दिलीप कुर्मीले सम्बोधन गर्दै सरकारलाई जनताको चेतावनीलाई गम्भीरतासाथ लिन आग्रह गरे।

प्रकाशित: ८ आश्विन २०८१ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App