राजनीति

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो: मन्त्री भण्डारी

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्। उनले जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी बनेका पाँच वटा विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम मन्त्री भण्डारीले यस्तो बताएका थिए।

मन्त्रीले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुने दाबी गरे।“शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, उनले भने।

विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए। “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी हो”, उनले भने।

“जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण गरिएका छन्। गाउँका विद्यालय बारम्बार भूकम्पले तर्साइरहने, वर्षाको समयमा चुहिने खुला चौरमा पढ्नुपर्ने बाध्यता र कच्ची भवन भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवन भूकम्पप्रतिरोधी बनाइएको हो।

जुम्लाको हिमा गाउँपालिकामा दुई, सिंजामा एक र कनकासुन्दरीमा दुईवटा विद्यालय भवन बनेका छन्। ती सबै भवन भूकम्पप्रतिरोधी हुन्। पाँच विद्यालयमा चारकोठे पक्की भवन, ४ वटा बालमैत्री, अपांगमैत्री भवन, ४ वटा शौचालय र ३ वटा हेन्ड वासिङ स्टेसन बनेका छन्।

हिमा गाउँपालिका-३ मा रहेको भैरव आधारभूत विद्यालय जोगीबाडामा ६१ लाख ९५ हजार ३ सय ४३ रुपैयाँ र -७ मा अवस्थित महादेव आधारभूत विद्यालय माथिकुडुमा ६३ लाख ७२ हजार ८ सय ६८ रुपैयाँमा भवन भूकम्पप्रतिरोधी बनेका छन्।

त्यस्तै कनकासुन्दरीका गाउँपालिका-४ मा रहेको भैलेपाटा आधारभूत विद्यालय लेकपोरको ५५ लाख २९ हजार १ सय ७४ रुपैयाँ र -६ मा अवस्थिति गोरुचौर आधारभूत विद्यालयको भवनमा ६८ लाख १६ हजार २ सय ९० रुपैयाँमा भूकम्पप्रतिरोधी भवन बनेका छन्।

सिंजा गाउँपालिका–६ मा अवस्थित माध्यमिक विद्यालय जोडुमा ७३ लाख ५६  हजार ३ सय ७९ रूपैयाँमा भवन बनेको छ। नयाँ निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेसन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको कामसमेत भएको हो। पाँच वटा भवनको कुल ३ करोड ५० लाख ३ सय ८६ रुपैयाँ लागत खर्च भएको छ।

यी पाँच विद्यालय भवनमा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठा सहितको सुविधा नयाँ विद्यालय भवन बनेका हुन्। सिंजा भेगका कुल ८ सय ९८ विद्यार्थी सुविधासम्पन्न विद्यालय भवनबाट लाभान्वित हुनेछन्। जसमध्ये भैरव आधारभूत विद्यालय जोगिवाडाका १ सय २०, भैलेपाटा लेकपोरका ९५, मावि जोडुका २ सय ९९, महादेव आधारभूत माथिकुडुका १ सय ११ र आधारभूत विद्यालय गोरुचौरका २ सय ७३ जना विद्यार्थी छन्।

गत वर्ष असोजमा परेको बेमौसमी वर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो। त्यसयता विद्यार्थी खुला चौरमा बसेर पठनपाठन गरिरहेका थिए।

धरै वर्ष पुराना जीर्ण भवनमा पढ्न बाध्य थियौँ, नयाँ भवन पाएपछि निकै उत्साहित भएको बताउँछिन् मावि जोडुमा कक्षा ५ मा अध्ययनरत छात्रा स्माइल बुढा। यता प्रध्यानाध्यापक सिंहबहादुर बुढाले ,भने अहिले सुविधायुक्त विद्यालय पाउदा खुसी छु।

प्रधानाध्यापक बुढाले भने, ‘भूकम्पप्रतिरोधी नयाँ विद्यालय बनेसँगै विद्यार्थीले सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन्। दुर्गमका विद्यालय भूकम्पप्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावक ढुक्क हुने अवस्था बनेको बताए। प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेस नेपाल, जुम्लाले आधार परियोजनाबाट विद्यालय भवन बनाइदिएको हो।

पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भूकम्पको जोखिमरहित बनेको दाबी गरे। अत्यावश्यक र मागमा आधारित भएर भवन निर्माण गरिएको उनले बताए।

अब दुर्गममा भूकम्पप्रतिरोधी विद्यालय भवन बन्दा विद्यार्थीलाई  पठनपाठन निकै सुरक्षित हुने गरेको छ। उनले हस्तान्तरण कार्यक्रमको अवसरमा भवनको सही रूपमा सदुपयोग र संरक्षण गर्न शिक्षक अभिभावकलाई आग्रहसमेत गरे।

विशेषगरी यो मोडललाई गाउँपालिकाले अनुसरण गर्ने विश्वास ब्यक्त गरे।प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय निर्देशक मिना पराजुलीले जहिले पनि आवश्यकतामा आधारित रहेर गुणस्तरीय शिक्षामा लगानी गरेको बताइन्।

जुम्लामा सन २०१७ देखि निरन्तर काम भइरहेको सुनाइन्। सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि भौतिक संरचनासँगै शैक्षिक सामाग्रीहरु उपलब्ध भएकाले अध्ययन र अध्यापनमा विशेष जोड दिनुपर्ने बताउँछिन्।

आगामी दिनमात्र समन्वय र सहकार्यको अपरिहार्य रहेको विश्वास व्यक्त गरिन्। भवन हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिका जनप्रतिनिधि र स्थानीय अभिभावकको सहभागीता रहेको थियो।

प्रकाशित: ६ आश्विन २०८१ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App