राजनीति

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

काठमाडौं-पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच सम्मान जनकरुपमा एकता हुने बताएका छन्।

बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै दाहालले दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउने तयारी भइरहेको बताए।

दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको समान बुझाइ रहेको बताए। उनले भने, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं। विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं।’

‘भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन्। तर, त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष दाहालले भने, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस्।’

केन्द्रमा अध्यक्षीय मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए। संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो।

 

प्रकाशित: २१ चैत्र २०७४ ०७:३८ बुधबार

एकता रोक्ने चलखेल भइरहेको दाहाल