राजनीति

हिंसा’विरुद्ध दाहालको आक्रोशः संसद् अवरोध जारी राख्ने, सडकबाट आवाज उठाउन आह्वान

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हत्या हिंसा भनेर संविधानको भावनाविपरीत बोलेका कारण सदन अवरोध गर्नुपरेको बताएका छन् ।

 शनिबार सहिद प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले लक्षित भएर हत्या हिंसा जस्ता शब्द प्रयोग गगरेर शान्ति सम्झौता उलंघन गर्न खोजिएको आरोप लगाएका हुन् । 

‘हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ,’ अध्यक्ष दाहालले भने, ‘र, हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ । हामी छोड्दैनौँ । किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन ।’ प्रतिनिधिसभामा आफूहरूले यो विषय उठाइरहेको बताउँदै उनले संसदमा नहुने कार्यकर्ताले सडकमा आवाज उठाउन आग्रह गरे । 

‘हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ । प्रतिनिधि सभामा नहुने साथीहरूले सडकबाट उठाइदिन प¥यो’, उनले भने । यस्तै माओवादी केन्द्र प्रतिनिधिसभामा कमजोर भएपनि मुद्दा र विरासतका कारण कमजोर नरहेको पनि अध्यक्ष दाहालले बताए । उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोरै छौँ, यो त दुनियाँलाई थाहा भएकै कुरा हो । 

तर हाम्रो विरासतको कारणले, हाम्रो मुद्दाको कारणले विस्तृत शान्ति सम्झौता, अन्तरीम संविधान र संविधानमा हाम्रा बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौं ।’ ‘हामी कमजोर छौं भनेर हीन भावना लिनु पनि सही नहुने’ उनले कार्यकर्तालाई बताए ।

 यस्तै अलग–अलग रहेका माओवादी घटक पनि एकठाउँमा केन्द्रीत हुनुपर्ने अवस्था आएको दाहालको भनाई छ । ‘हाम्रा मुद्दा त साझा छन् । त्यसकारण हामी सबै एक ठाउँ आउनुको विकल्प छैन,’ उनले भने । यस्तै संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजी पनि असफल बनाएको उनले दाबी गरे ।

प्रकाशित: ५ आश्विन २०८१ १४:०९ शनिबार

##Pushpa_Kamal_Dahal