राजनीति

जिबी र छविको आडमा रविको चलखेल: सहकारीको रकम ससुरालीसम्म

सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा रवि लामिछानेले राजस्वसमेत छली गरेको र उद्धव पौडेल सञ्चालक रहेको गोपीकृष्ण मुभिजको नाममा समेत पेस्की रकम दिई अपचलन गरेको पाइएको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको उल्लेख गर्दै आयकर दाखिला नगरेको उल्लेख छ। ‘देखावटी कागजलाई समेत कम्पनी रजिस्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइसमेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको सो प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक गरिएको प्रतिवेदमा उल्लेख भएअनुसार सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिएको छ। त्यसमध्ये सहकारी संस्थाबाट २२ करोड ४६ लाख ३० हजार गोरखा मिडिया नेटवर्कको बैंक जम्मा भएको देखिएको छ। सहकारीकै ४३ करोड सात लाख ७४ हजार पाँच हजार ३८ रूपैयाँ रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोरखा मिडिया नेटवर्क प्रालिको बैंक खातामा जम्मा भएको देखिएको छ।

कुनै कम्पनीलाई सापटीका रूपमा, कुनै कम्पनीलाई ऋणका रूपमा, कतिपय रकम सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिपय कम्पनीका सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखिएको उल्लेख छ।

सहकारीबाट आएको सबै रकम विधि वा मार्ग अपनाइए पनि कारोबारहरू कानुनसम्मत नदेखिएको भन्दै त्यसका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई तथा सञ्चालकहरू छविलाल जोशी, रवि लामिछाने र कुमार रम्तेललाई समितिले प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ।

‘सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानुनतः गरेको देखिँदैन। कानुनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानुनको अनभिज्ञता क्षम्य हुँदैन। तसर्थ सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रालिमा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘गोरखा मिडिया नेटवर्क प्रालिमा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्षसमेत रहेका गीतेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोसिस गरेको भए पनि पूरा हुन पाएन। सहकारी संस्थाबाट प्रवाह भएबमोजिम नै गोरखा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रालिको लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिँदैन।’

समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा जिबी राईलाई थाहा हुने भनेका छन्। तर अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको सम्बन्धमा जिबी वा लामिछानेलाई थाहा हुने बताएका छन्।

‘गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा अध्यक्ष गीतेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तीनै जनाले गोरखा मिडिया नेटवर्क प्रालिको आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। बैंकमा खाता खोल्दाका बखत पेस गरिएको ग्राहक पहिचान फाराममा उल्लिखित विवरण र दस्तखत नमुना कार्डमा भएको हस्ताक्षर र सोसँगै रहेको संस्थागत खाता खोल्ने फारामको दोस्रो पानामा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने बेहोरा रहेको देखिन्छ,’ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी कम्पनी चलाउने रकम के कहाँबाट आउँछ ? कसरी आउँछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्थासमेत रहे/भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व वहन गर्नुपर्ने भनिएको छ।

‘सेयर खरिद–बिक्री गर्दाका बखत कार्यालयमा पेस गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने रवि र छवि दुवैले कुनै असहमति जनाएको वा दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन। कार्यालयको प्रमाणित अभिलेखअनुसार दुवै जना सेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ,’ प्रतिवेदनमा लेखिएको छ, ‘सञ्चालक तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट सेयर दिएको भनी बताए तापनि प्रथमतः स्वेट सेयरसम्बन्धी कानुनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकआपसमा स्वेट सेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाणसमेत रहे/भएको अवस्था देखिँदैन।’

समितिले करारसम्बन्धी प्रचलित कानुनअनुसार कानुनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रालिमा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक सदस्य जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनुपर्ने अवस्था रहेको पनि उल्लेख गरेको छ।

छविको सेयर रविलाई

छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जिबी राई र आफ्नो मात्रै ५०/५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन्। रविले पनि उनकै सेयर लिएको र पछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट बिक्री गरेको देखिएको छ।

२४ करोडको चेक लामिछानेको हातबाट

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले संसदीय छानबिन समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई नै जिम्मेवार रहेको बयान दिए पनि उनी आफैंले करिब २४ करोडका छुट्टाछुट्टै १६ वटा चेक काटेको भेटिएको छ। समितिले प्रतिवेदन लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएका चेकहरूको सबै विवरण राखेर प्रतिवेदन सार्वजनिक गरेको छ।

लामिछानेको हस्ताक्षर गरेको चेकबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार सात सय ३१ रूपैयाँको भुक्तानी भएको छ। लामिछानेले एउटै चेक तीन करोड रूपैयाँसम्मको काटेको  प्रतिवेदनमा उल्लेख छ।

ससुरालाई सहकारीको रकम

रास्वपा सभापतिसमेत रहेका लामिछानेले गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा गोपीकृष्ण मुभिज प्रालिलाई पेस्की रकम दिन चेक काटेका थिए। गोपीकृष्ण मुभिजका मालिक लामिछानेका ससुरा (पत्नी निकिताका बुवा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल हुन्। संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गोरखा मिडिया नेटवर्कबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रूपैयाँ पेस्की गएको देखिन्छ।

‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई रू.२५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा दिएको थप रु. ६६,२५,००० गरी रु. ८१,२५,००० फस्र्योट हुन बाँकी देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ।

यस्तै गोरखा मिडिया नेटवर्कबाट रास्वपा सहमहामन्त्री विपीन आचार्यको नोबोडी प्रोडक्सनमा पनि ४ करोड २१ लाख ९३ हजार ७५० रूपैयाँ पेस्की गएको देखिन्छ। गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रूपैयाँ जम्मा भएको प्रतिवेदनमा उल्लेख छ।

एक करोड चार लाख तलब

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध सञ्चालक लामिछानेले सोही संस्थाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनबाट एक करोड रूपैयाँभन्दा बढी पारिश्रमिक लिएका थिए। छानबिन प्रतिवेदनअनुसार लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड रूपैयाँभन्दा बढी तलबस्वरूप बुझेका थिए। लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रूपैयाँ लिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा उनले ३० लाख रूपैयाँ तलबस्वरूप लिएको प्रतिवेदनमा उल्लेख छ। लामिछानेले एक करोड चार लाख ३६ हजार ५ सय ८७ रूपैयाँ पारिश्रमिक लिएका थिए।

लामिछाने नै जिम्मेवार

जिबी राईका सहयोगी कुमार रम्तेलले राई नेतृत्वको सहकारी डुब्नुमा रास्वपा सभापति रवि लामिछाने जिम्मेवार रहेको बयान दिएका छन्। आफूले सो कुरा टेलिफोनमार्फत लामिछानेलाई पनि भनेको रम्तेलको बयानमा उल्लेख छ।

संसदीय छानबिन समितिले सोधेको पोखराको सूर्यदर्शन सहकारीमा खाता रहेका, बुटवलको सुप्रिम सहकारीमा खाता रहेका रवि लामिछाने र पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभाका माननीय सदस्य रवि लामिछाने एउटै हुन् ? भन्ने आशयको प्रश्नमा रम्तेलले भनेका छन्, ‘मेरो नाममा खडा गरिएको ऋण कृत्रिम हो। मैले चिनेको रवि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन्। मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ। त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु।’

रम्तेलले अगाडि भनेका छन्, ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभए तापनि आजको स्थिति आउनुमा तपाईंको भूमिका छसमेत भनेको थिएँ।’

रम्तेलले बयानमा भनेका छन्, ‘ग्यालेक्सी टिभीमा कम्तीमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईं (रवि लामिछाने) ले आठ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जिबी राईसँग कुरा भइसकेको छ भन्नुभएको थियो।’

रम्तेल पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाको सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको कोषाध्यक्ष छन्। उनी हाल सहकारी ठगी मुद्दामा कास्की कारागारमा छन्। रम्तेललाई त्यहींबाट झिकाएर संसदीय छानबिन समितिले बयान लिएको थियो।

लामिछानेकै नाममा रकम जम्मा

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन्। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ। उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा रहेको खातामा दुई करोड रूपैयाँ जम्मा गरेको बयान पनि दिएकी छन्।

म निर्दोष छु: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण माग नगरेको दाबी गरेका छन्। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेका संसदीय विशेष समितिलाई बयान दिने क्रममा उनले आफ्नो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा नभएको बताएका हुन्। ‘अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देख्दिनँ। मेरो पेटमा सहकारीको एक रूपैयाँ परेको छैन। मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन। मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ बयानमा लामिछानेले भनेका छन्, ‘मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन। अभियोगपत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन। गैरकानुनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन। म निर्दोष छु।’

उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई निकै जटिल बनाएको पनि बताएका छन्।

संसदीय छानबिन समितिको प्रतिवेदनमा रास्वपा सभापति लामिछानेसँग लिएको बयानसमेत राखिएको छ। बयानमा समितिले लामिछानेलाई विभिन्न सहकारीबाट उनको नाममा लिएको ऋणबारे पनि प्रश्न गरेका छन्। लामिछानेले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको बताएका छन्।

लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा पनि सदस्यता नरहेको बताएका छन्। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट तपाईंका नाममा दुई करोड ऋण खडा गरी गोरखा मिडिया नेटवर्कमा पठाइएको कुरा के हो भन्ने समितिको प्रश्नमा लामिछानेले ऋण लिँदा पुर्‍याउनुपर्ने प्रक्रिया नपुगेको र उक्त ऋण लिएको व्यक्ति आफू नभएको बताएका छन्।

प्रकाशित: ५ आश्विन २०८१ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App