राजनीति

गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको छ: पम्फा भुसाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन्।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम अधिवेशनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले गणतन्त्रमा गणतन्त्रकै विरोधी शासक बन्दा संविधानले पोलिरहेको बताएकी हुन्।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै उनले भनिन्, "वयलगाडा चढेर अमेरिका पुगिन्छ ? गणतन्त्र आउँदैन, भन्नेहरु अहिले गणतन्त्रको शासक बन्दा त्यो संविधानले पोलिराखेको छ। त्यसमा लेखिएका गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक लगायतका अधिकारहरु नरुचाउनेलाई संविधानले पोलिराखेको छ।"

जनयुद्धका यी उपलब्धिहरू देख्दा जनताको घर-घरमा माओवादी छ भन्ने लागेकाले ती उपलब्धि हटाउने षडयन्त्र भइरहेको उनको आरोप थियो।

उपाध्यक्ष भुसालले दसौँ हजार सहिदको बलिदान, हजारौं महिला दिदीबहिनीहरूले लडेर ल्याएको संविधान संशोधन गरेर जनताको अधिकार खोस्ने षडयन्त्र भए त्यसको प्रतिवाद महिलाहरूले नै गर्ने बताइन्।

"समाजवादमा जानका लागि संविधान संशोधन हुनसक्छ", उनले भनिन्, "तर समावेशी र समानुपातिक अधिकार खारेज गर्न संविधान संशोधन गर्ने षडयन्त्र भइरहेको छ। यसकाविरुद्ध सजग र सचेत भएर बस्नुहोला। त्यसका लागि सडकबाट पनि लड्नुपर्ने हुनसक्छ।"

उनले संविधान संशोधन गर्न सकिने तर त्यसका लागि जनताको 'म्याण्डेट' जरुरी रहेको बताइन्। त्यसका लागि निर्वाचनमा जाँदा के-के विषयमा संशोधन गर्ने हो त्यसलाई एजेण्डाका रुपमा लगेर जनमतले अनुमोदन गरेपछि भने संविधान संशोधन गर्न सकिने उनको भनाई थियो।

उनले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्‍याउने, दलित, अल्पसंख्यक लगायतको प्रतिनिधित्व जनसंख्याका आधारमा सुनिश्चित गर्ने हो भने त्यसका लागि संविधान संशोधन गर्न महिलाहरूले सहयोग गर्ने बताइन्।

उनले संविधान संशोधन गर्नुको सट्टामा दलित, महिला, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतले पाएको अधिकार रक्षाका निम्ति, कार्यान्वयनका निम्ति लाग्न आग्रहसमेत गरिन्।

उपाध्यक्ष भुसालले प्रचण्डको प्रतिवादपछि संविधान संशोधनको विषय कांग्रेस–एमालेले उठाउन छाडेको दाबीसमेत गरिन्। "समावेशी, समानुपातिक अधिकार मास्ने षडयन्त्र बुनेर हठात् रुपमा प्रजातान्त्रिक मूल्यमान्यता विपरीत दुई ठूला दल मिले, उनले भनिन्, "तर प्रचण्डले प्रतिवाद गरेपछि अहिले त्यो विषय स्थगन भएको छ। त्यसपछि उपसभामुख हटाउन खोजे, त्यसकोपनि माओवादीले नै प्रतिवाद गरेपछि त्यो पनि अहिले उठाउन छाडेका छन्।’

उपाध्यक्ष भुसालले संविधानले दिएको अधिकार लिन पनि महिलाहरु हिच्किचाइरहेको टिप्पणी गरिन्। अंश, वंश, ज्यालामा असमानता रहेपनि बुबा, दाजुभाइ, श्रीमान्, छोरा रिसाउँछन् कि भनेर महिलाहरूले पाएको अधिकार पनि लिन हिच्किचाइरहेको उनको भनाई थियो।

नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले दश वर्ष भित्रमा समाजवादी क्रान्ति हुने दाबी गरे। हरेक १०/१० वर्षमा देशमा परिवर्तनका लागि क्रान्ति भइरहने भन्दै अब समाजवादी क्रान्ति हुने उनको भनाई थियो। "समाजवादी क्रान्ति त हुन्छ हुन्छ। किनकि यहाँ माओवादी छ।" उनले भने।

अधिवेशनको अवसरमा जनयुद्धका क्रममा पक्राउ परेर जेल ब्रेक गर्ने महिला नेतृहरु कमला नहर्की, सञ्जु कुमाल र नीता विक तथा जनयुद्धकी घाइते पत्रकार गोमा घिमिरेलाई सम्मान गरिएको थियो।

प्रकाशित: ३ आश्विन २०८१ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App