राजनीति

शेर बहादुर देउवा रिसाएको दिन सरकार ढल्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रिसाएपछि दुई तिहाइको सरकार ढल्ने जिकिर गरे।

संविधान दिवसको अवसरमा रास्वपाले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको 'संविधान मन्थन' कार्यक्रममा बोल्दै लामिछानेले दुई तिहाइको सरकारको प्राथमिकता अझै स्पष्ट नभएको बताए। उनले जनताका प्राथमिकता र सरकारका प्राथमिकता मेल नखाउँदा जनता निराशा छाएको उदाहरण समेत दिए।

लामिछानेले भने, "दुई तिहाइको सरकार अस्थिर छ। कांग्रेस सभापति रिसाए सरकार ढल्छ, अनि राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?" उनले राजनीतिक दलहरू नै सुधारको आधार भएको र योग्य प्रतिनिधि पठाउन सके मात्र परिवर्तन सम्भव हुने धारणा राखे।

साथै, लामिछानेले निर्वाचन प्रणाली महँगो भएको र यसबाट संसदमा थोरै मात्र इमानदार प्रतिनिधिहरू आउने उल्लेख गरे। "इमानदारको संख्या कम भएकाले विधि र थिति बनाउन कठिन छ," उनले भने, "प्रतिनिधिको छनोटमा ध्यान दिन जरुरी छ।"

उनले संविधान संशोधनको कुरा उठाउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदबाहेकलाई मन्त्री बनाउने, संसदलाई विधायकी काममा मात्र सीमित गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित गैरदलीय समावेशी ‘विद्वत सभा’ को अवधारणा अगाडि सार्नुपर्ने आवश्यकता औंल्याए।

साथै, उनले संविधान संशोधनको बहानामा सत्ताको आयु लम्ब्याउने प्रयास भइरहेको आशंका पनि व्यक्त गरे।

प्रकाशित: ३ आश्विन २०८१ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App