राजनीति

सरकारद्वारा विदेश भ्रमणमा रोक

काठमाडौं – केपी ओली सरकारले न्यायपरिषद्सहित विभिन्न निकायबाट वैदेशिक भ्रमणको सैद्धान्तिक स्वीकृतिका लागि आएको निवेदन अस्वीकार गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्बैठकले विदेश भ्रमणका लागि सैद्धान्तिक सहमतिका लागि आएका प्रस्ताव अस्वीकार गर्दै विदेश भ्रमणमा रोक लगाएको हो।

‘विदेश भ्रमणका लागि सर्वोच्च अदालतदेखि अन्य निकायबाट सैद्धान्तिक सहमति खोज्दै आएका प्रस्तावलाई आजको मन्त्रिपरिषद्बैठकले अस्वीकृत गरेको छ,’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने, ‘विदेश भ्रमणमा रोक लगाउने कार्य आजैबाट भएको छ।’ गैरसरकारी संघसंस्थाको निम्तोमा विदेश जान कानुनले रोक लगाएको भए पनि त्यसको कार्यान्वयन नभएको अवस्थामा मन्त्रिपरिषद्ले सो कानुन कार्यान्वयन गर्दै विदेश भ्र्रमणमा रोक लगाएको मन्त्री तामाङले बताए।

प्रधानमन्त्रीको भारत भ्रमण टोली ५४ सदस्यीय
मंगलबारको मन्त्रिपरिषद्बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३–२५ गते हुने भ्रमण टोलीको सदस्य संख्या टुंग्याएको छ। प्रधानमन्त्री ओलीसहित काठमाडौंबाट ४४ जना र नयाँ दिल्लीस्थित नेपाली दूतावासका ९ जनासहित ५३ जनाको सरकारी भ्रमण टोलीलाई स्वीकृत गरिएको छ।

भारत भ्रमणमा जाने ५४ सदस्यीय प्रतिनिधिमण्डलमा ३५ जना सरकारकारी खर्च र बाँकी १८ जना नीजि खर्चमा जान लागेको स्रोतले बतायो। नीजि क्षेत्रबाट जानेहरुको नाम आउने क्रम जारी रहेकोले प्रधानमन्त्रीको भ्रमण टोलीमा संख्या अझै बढ्ने दाबी स्रोतको छ।

स्रोतकाअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृका यादव, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित प्रधानमन्त्री पत्नि राधिका श्रेष्ठ पनि उक्त टोलीमा रहने छन्। उक्त भ्रमण टोलीमा माओवादी केन्द्रका दीननाथ शर्मा, रामेश्वराय यादव, राजपाका शरदसिंह भण्डारी र संघीय फोरमका विमल श्रीवास्तवसहितका नेता रहनेछन्। र, प्रधानमन्त्रीको भ्रमण टोलीमा पहिलोपटक कलाकारपनि परेका छन्। कलाकारमा राजेश हमाल र दिनेश डिसी उक्त टोलीमा रहने छन्।

प्रकाशित: २१ चैत्र २०७४ ०१:०३ बुधबार

सरकारद्वारा विदेश भ्रमणमा रोक