राजनीति

‘काहुँडाँडा–धरहरा खानेपानी आयोजनाको समस्या सम्बोधन गरिने’

खानेपानी मन्त्री प्रदीप यादवले काहुँडाँडा–धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्या सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताएका छन्।

पोखरा महानगरपालिका–११ काहुँडाँडा धरहरा खानेपानी आयोजना अवलोकनपछि स्थानीयसँग छलफल गर्दै मन्त्री यादवले सरकारले गुणस्तरीय र भरपर्दो सेवा दिने प्रतिबद्धता जनाउँदै ढिलासुस्तीको अन्त्य गर्न ठोस कदम चाल्ने जानकारी गराए।

उनले आयोजनामा देखिएका प्राविधिक समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताए।

‘काहुँडाँडा आयोजनामा केही प्राविधिक चुनौती देखिएका छन्’, मन्त्री यादवले भने, ‘त्यसको समाधानका लागि अर्थ मन्त्रालयसँग सहकार्य भइरहेको छ। सरकारले ढिलासुस्ती हुन नदिन हरसम्भव प्रयास गर्नेछ।’

मन्त्री यादवले आयोजनाको शीघ्र सम्पन्नताले काहुँडाँडाका बासिन्दालाई स्वच्छ र भरपर्दो खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै मन्त्रालयले आयोजनालाई तीव्रगतिमा सम्पन्न गराउन उपर्युक्त कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, मन्त्री यादवले पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग छलफल गर्दै बिजुली दर छुटको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता जनाए।

कामको जिम्मा पाएका निर्माण व्यवसायीको ढिलासुस्तीप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै उनले सार्वजनिक खरिद प्रक्रियामा रहेका कमजोरीलाई सुधार गर्न सरोकारवाला निकायसँग निकट भविष्यमै छलफल गर्ने बताए।

यसअघि मन्त्री यादवले जापान सरकारको सहयोगमा निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले आयोजनाको प्रगति, चुनौती र आगामी योजनाको जानकारी लिँदै ‘ओभरहेड ट्याङ्की’ निर्माणमा देखिएका अवरोध हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराए।

मन्त्री यादवले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भएको छलफलमा पोखरा खानेपानी आयोजना सम्पन्नमा अवरोध बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा आफू गम्भीर रहेको बताए।

उनले आवश्यक समन्वयका उपायको खोजी गरिरहेको बताए। दुवै आयोजना देशको प्रतिष्ठासँग जोडिएको उल्लेख गर्दै मन्त्री यादवले कुनै अवरोधबिना ती आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए।

उक्त आयोजनाको अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुनाखर भुसाललगायतको  सहभागिता थियो। रासस

प्रकाशित: ३० भाद्र २०८१ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App