राजनीति

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।

बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए। उनले आफ्नो अनुकूलतामा कार्यविधि बनाएर अघि बढ्ने कुरा राम्रो नभएको जिकिर गरे।

कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन उनले निर्देशन दिए। फास्ट ट्याकमा कानून बनाउने गरी समिति अघि बढ्ने पनि उनले बताए।

बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिए।

उनले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रुपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताए। सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्त्व बढ्दै गइरहेको बताइन्। उनले सीमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको उल्लेख गरिन्।

उनले खेल क्षेत्रमा लगानी समस्या रहेको जिकिर गरिन्। खेल क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले युवाहरुलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिनेगरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्चितता हुनेगरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन्।

उनले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् ? भन्दै प्रश्न गरिन्। युवाहरू देशभित्रै केही गर्न चाहे पनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको बताइन्।

उनले युवाका समस्याहरुको सूचि बनाइ समाधान गर्न मन्त्रालयलाई आग्रह गरिन्।

प्रकाशित: २७ भाद्र २०८१ १६:१९ बिहीबार