कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले दसैँ अघि नै किसानलाई दुधको पैसा भुक्तानी गरिसक्ने बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले किसानले दसैँ अघि नै दुधको भुक्तानी पाउने दाबी गरेका हुन्। उनले दसैँ अघि सम्ममा सरकारले किसानलाई दुधको रकम भुक्तानी गरिसक्नुपर्ने दबाब रहेको र सरकारले भुक्तानी गर्ने गृहकार्य पनि थालिसकेको स्पष्ट पारे।
मन्त्री अधिकारीले डिडिसीले मात्रै नभई निजी डेरी उद्योगहरूले पनि दसैँ अघि नै किसानको दुधको रकम भुक्तानी गरिसक्नुपर्ने बताए।
सरकारले दुधको मूल्य बढाएपछि भुक्तानीमा समस्या देखिएको के ? अब सरकारले मूल्य घटाउँछ ? भन्ने पत्रकारहरूको प्रश्नमा मन्त्री अधिकारीले किसानले दुधको उचित मूल्य पाउनुपर्ने आफ्नो मान्यता रहेको स्पष्ट पारे।
उनले भने ‘दुधको मूल्य घटाउने वा बढाउने भन्दा पनि किसानले दुधको उचित मूल्य पाउनुपर्छ भन्ने मेरो धारणा छ, यस विषयमा छलफल पछि निर्णय हुन्छ।’
उनले दुधको मूल्य घटाउनु पर्ने वा बढाउनु पर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मै छलफल गरेर आवश्यक निर्णय गरिने पनि बताए। मन्त्री अधिकारी बिहीबार देखि विराटनगरमा सुरु हुने कृषि एक्स्पोको उद्घाटन कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन्।
प्रकाशित: २६ भाद्र २०८१ १९:४३ बुधबार