राजनीति

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन्।

सो पार्टीको आज धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशका बिकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, “जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र बिसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ।”

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे।

पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’ नाम दिएर अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: २५ भाद्र २०८१ १९:३५ मंगलबार