राजनीति

सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन: सांसद बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन्।

उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको जिकिर गरे।

उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभई संसद्‌मा उठेको विषय भएको उनको भनाइ थियो। उनले उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको उल्लेख गरे।  

‘उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो। संसद्मा उठेका विषय हुन्। सरकारले बनाएको। सरकारद्वार सिर्जित समस्या, विषय होइन। उहाँले गर्नुभएको काम पदीय जिम्मेवारी अनुकूल होइन। त्यो कुरा बेठिक हो। बेठिक हो भन्ने कुरा संसद्मा उठ्यो। एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसद्को पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसद्को मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो। मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो। हामीले कुनै बलजफती गरेका छैनौं।’ उनले भने।

प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसद्‌मा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाए। प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाइ थियो।

प्रकाशित: २५ भाद्र २०८१ १९:१६ मंगलबार