राजनीति

प्रचण्डलाई कांग्रेस सांसदको प्रश्न: नेपालमा ‘बंगलादेश’ जहाजबाट ल्याउनुहुन्छ की रेलमा ?

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रति लक्षित गर्दै उनले ‘देश बंगलादेश बन्दैछ’ भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताउँदै आपत्ति जनाएका हुन्।

उनले बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गरे। पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै उनले सचेत समेत गराए।

उनले भने, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन्। देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन्। उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ। अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन्। बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन्।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २५ भाद्र २०८१ १५:४३ मंगलबार