राजनीति

सुशासन र विकासको नेतृत्व म गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सुशासन कायम गर्न र समृद्धि प्राप्त गर्न आफूले अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले वैज्ञानिकहरूलाई मुलुकको विकासका लागि नयाँ अनुसन्धान र आविष्कारमा लाग्न आग्रह गर्दै मुलुकको सुशासन र विकासको नेतृत्व आफूले गर्ने बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औं प्राज्ञसभामा बोल्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा रासायनिक मल र कीटनाशकको प्रयोगले माटोलाई बिरामी बनाएको र त्यसको समाधानको उपाय खोज्न महत्वपूर्ण रहेको बताए।

नाष्टका कुलपतिसमेत रहेका ओलीले मुलुकमा खोज र अनुसन्धानले परिवर्तन ल्याउन सक्ने धारणा राखे। "मुलुकको परिवर्तनका लागि म नेतृत्व गर्छु, तर तपाईंहरू वैज्ञानिकहरूबाट प्राप्त हुने नयाँ खोजहरू मुलुकको प्रगतिको मेरुदण्ड हुनेछ," उनले भने।

प्रधानमन्त्रीले आयुर्वेद, ध्वनि विज्ञान, नृत्य विज्ञान जस्ता नेपाली पुर्खाले सुरु गरेका विज्ञानका क्षेत्रमा अनुसन्धानलाई अगाडि बढाउन सुझाव दिँदै, मुलुकको आवश्यकता अनुसार काम गर्नुपर्ने बताए।

प्रकाशित: २५ भाद्र २०८१ १४:५० मंगलबार