राजनीति

सहकारी छानबिन समितिले पीडितलाई न्याय दिनेमा विश्वस्त छु: सभापति लामिछाने

फाइल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सहकारपीडितलाई न्याय दिन सक्षम हुनेमा आफू विश्वस्त रहेकाे बताएका छन्।

धनगढीमा आज (सोमाबार) बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा बोल्दै उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको जिकिर गरेका हुन्।

सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेका बताउँदै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे।

“जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने, “यस विषयमा समितिले विधि र पद्धतिमा रहेर निष्कर्ष निकाल्ने नै छ।”

पूर्वउप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दाबी गरे। पार्टीका सह-प्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचडाबबाट विचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: २४ भाद्र २०८१ २०:३० सोमबार