राजनीति

हिंसाको महिमा मण्डन नगर्न दाहाललाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे। उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए। उनले माओवादी युद्ध महान थियो भने किन छोडेको ? किन शान्ति प्रक्रियामा आएको ? भन्दै प्रश्नसमेत गरे।

उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए। उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरू प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए।

 झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बताए।

उनले भने, ‘केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामारु त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो। जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन। जन आन्दोलन हो भनेपनि त्यो फेल हुँदैन। जन भइसकेपछि त्यो फेल हुँदैन। अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ।’ प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जानु नहुने पनि बताए।

प्रकाशित: २२ भाद्र २०८१ १२:३१ शनिबार

#KP Sharma Oli #Prachand #Puspakam dahal