राजनीति

चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी

सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव पास गर्नु र एमाले पोलिट ब्युरो बैठकमा यस्तै विचार आउनुले यी दुई दलले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने संकेत दिएका हुन्। यी दुई दल यतिबेला आन्तरिक बैठकमा छन्।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकले पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ। बैठकले कसैसँग गठबन्धन नगरी आफ्नै तागतमा एक्लै चुनाव लड्ने निर्णय पनि गरेको छ।

एमालेले आफ्ना सांगठनिक बैठक मिसन ८४ अर्थात् निर्वाचनकेन्द्रित भएर अघि बढाएको देखिन्छ। उसले आगामी उपनिर्वाचनमा पनि कुनै दलसँग सहकार्य नगर्ने भएको छ। २०८४ को चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित एमाले संगठन निर्माणमा लागिरहेको छ।

एमालेले जारी पोलिट ब्युरो बैठकमा मिसन २०८४ लाई बढी केन्द्रित गरेको छ। मिसन २०८४ का लागि एमालेले यसअघि दुई चरणका अभियान गरिसकेको छ। फेरि पनि यस्ता अभियानलाई निरन्तरता दिनेगरी एमालेले विभिन्न बैठक गरेको छ। सरकारमै रहेका बेला एमालेले तस्रो चरणको संगठन विस्तार अभियान अघि बढाउने तयारी गरेको छ।

महासचिव शंकर पोखरेलले पोलिट ब्युरोको मंगलबारको बैठकमा पेस गरेको वार्षिक कार्ययोजनामा संगठन विस्तारका लागि तेस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

उक्त कार्यायोजनामाथि बुधबार पोलिट ब्युरोका सदस्यले आआफ्ना धारणा राखेका छन्। पोखरेलले प्रस्तुत गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण: वार्षिक कार्ययोजना’मा ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’ अनुभवका आधारमा तेस्रो चरणका कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने उल्लेख छ। कार्यक्रमको उद्देश्य आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने छ।

२०७४ सालमा एमाले र माओवादी तथा २०७९ मा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। अहिले कांग्रेस नेता शेखर कोइराला र महामन्त्री थापाको जोडबलमा आगामी निर्वाचन एक्लै लडनुपर्ने निर्णयमा पुगेको हो।

एमालेचाहिँ यसअघिबाटै मिसन ८४ तर्फ केन्द्रित थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमाले संगठन चुस्त दुरुस्त राख्न क्रियाशील छ। एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको जानकारी पनि उनले दिए।

पोलिट ब्युरोको मंगलबार बसेको बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को तयारीमा लागिरहन सदस्यलाई निर्देशन दिएका थिए। ‘नेकपा एमालेले ८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले भनेका थिए।

मिसन ८४ मा जित निकाल्न पार्टीको सांगठानिक कामलाई चुस्त, दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीले बताएका थिए। ‘संगठनहरू चुस्त, दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन, ग्राउण्डमा योजना बनाएर अघि बढ्नुप¥यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो,’ बैठकमा ओलीलाई उद्धृत गर्दै एक सदस्यले भने।

पोलिट ब्युरोको बुधबार बसेको बैठकमा पनि एमालेले मिसन ८४ केन्द्रित भएर छलफल गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख गौतमले भने, ‘हामी आगामी निर्वाचनमा कसैको पनि वैशाखी टेक्दैनौं। नेपाली कांग्रेसले पनि एक्लै निर्वाचन लड्छु भनेको छ। हामी पनि कसैसँग नमिली एक्लै चुनाव लड्छौं। निर्वाचनमा वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार केन्द्रीय कार्य समिति बैठकले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने प्रस्ताव अनुमोदन गरेको छ।

‘आउने निर्वाचनमा नेपाली कांग्रेसले कोही कसैसँग गठबन्धन गर्दैन। हाम्रो त प्रस्ताव नै पास भैसक्यो’, शिवाकोटीले भने। उनले आफ्नै बलबुतामा चुनाव लड्ने निर्णय पार्टीले गरेको जानकारी दिए।

‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलसँग मिलेर निर्वाचन लडे पनि कांग्रेस महासमिति बैठकपछि पार्टीका सदस्य, शुभेच्छुक, समर्थकको सुझावअनुसार पार्टीले अब एक्लै चुनाव लड्ने निर्णय लिएको हो,’ उनले भने।

 ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाई संगठनको, आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनस्र्थापित गर्नेछौं। हामी भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रुखमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ’, कांग्रेस केन्द्रीय कार्य समितिबाट पारित प्रस्ताव उद्धृत गर्दै शिवाकोटीले भने।

उनका अनुसार अहिले पारित यो प्रस्ताव महामन्त्री थापा हो। महासमितिले गरेको निर्णयलाई केन्द्रीय समितिले थप बलियो ढंगले अनुमोदन गरेको उनले बताए।

एमालेले जनतासँग जोडिन तीन तहका जनप्रतिनिधिसँगै केन्दीय तहका नेतालाई परिचालन गर्ने भएको छ। उनीहरूले जनताको घरघरमा गएर समस्या पहिचान र समाधानका उपाय पनि निकाल्ने छन्। यसका लागि पार्टीले देशभरका नेताझकार्यकर्तालाई वैचारिक कक्षा सञ्चालन गर्ने भएको छ।

यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो। जसअन्तर्गत केन्द्रीय कमिटी सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र, प्रदेश कमिटीका नेतालाई पालिका र पालिकाका नेतालाई वडाको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेले वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशतलाई पार्टी सदस्य बनाउने योजना बनाएको छ।

प्रकाशित: २० भाद्र २०८१ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App