राजनीति

खुलस्त देउवाः लुकाएर लुक्दैन, ओलीजी र मलाई नजिक ल्याउन क्याप्टेन थापाको योगदान छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका ठुला राजनीतिक दललाई एकठाउँमा ल्याएर राजनीतिक स्थिरता दिलाउन योगदान दिएको भन्दै क्याप्टेन रामेश्वर थापाको प्रशंसा गरेका छन्।

शनिबार क्याप्टेन थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै ‘लुकाएर लुकाउन सकिने कुरा नभएको’ भन्दै उनले यस्तो बताएका हुन्।

‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याएर अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो योगदान छ,’ सभापति देउवाले भने, ‘त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु।’

देउवाले क्याप्टेन थापाबाट नेपालमा राजनीतिक स्थायित्व दिलाउन योगदान पुर्‍याएको भन्दै यस्तो टिप्पणी गरेका हुन्। ‘नेपालको राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलाउन उहाँले खेलेको भूमिकाप्रति मेरो पार्टीका तर्फबाट धन्यवाद दिन चाहन्छु,’ देउवाले भने।

असार १७ मा कांग्रेस र एमालेबीच सहमति हुँदा क्याप्टेन थापाकै घरमा राति ७ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सोही सहमतिपछि सत्ताच्युत भएको माओवादी केन्द्र र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘माफियाले बनाइदिएको गठबन्धन भन्दै’ टिप्पणी गरेका थिए।

प्रकाशित: १५ भाद्र २०८१ १८:४४ शनिबार