राजनीति

साढे दुई सय कर्मचारी कार्यक्षेत्र पुगेनन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई वर्खास्त गर्ने चेतावनी दिएपनि दुई महिनाअघि प्रदेशमा खटाइएका दुई सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्। 

कार्यक्षेत्र नजाने कर्मचारीलाई मात्रै होइन जानलाई रमाना नदिने र गएपछि हाजिर नगराउने कार्यालय प्रमुखलाई समेत कारबाही गर्ने भन्दै प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीले चेतावनी दिँदै आएपनि प्रदेशमा खटाइएका १ हजार १ सय ४३ कर्मचारीमध्ये २ सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र नपुगेका हुन्।

संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयका अनुसार खटाइएका कर्मचारीमध्ये केही विरामी भएको बाहना बनाएर बीचमै हराएका छन्, केही खबरै नगरी गायब छन् भने केही महत्वपूर्ण जिम्मेवारी भएकाले जिम्मेवारी हस्तान्तरण गर्न ढिलाइ भएको निहुँ निकालेर काठमाडौंमै बस्दै आएका छन्।

‘सरुवा गरिएका सहसचिव, उपसचिव लगायतका दर्जनौं उच्च अधिकारीनै विभिन्न बाहना बनाएर भाग्दासमेत कुनै कारबाही हुन सकेको छैन। बर्खास्त गर्छु, कारवाही गर्छु भन्नु साना कर्मचारीलाई तर्साउन मात्रै रहेछ।’

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवराम न्यौपानेले अझै २ सय ५० भन्दा बढी कर्मचारी खटाइएको ठाउँमा नपुगेको बताए। ‘मन्त्रालयले खटाएका कर्मचारी अधिकांश कार्यक्षेत्र पुगेपनि २ सय ५० भन्दा बढी कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन्,’ न्यौपानेले भने ‘केही बिरामी भएकाले गएका छैनन्, केही महत्वपूर्ण जिम्मेवारी हस्तान्तरण गर्न समय लागेकाले गएका छैनन् र केही सम्पर्कमै छैनन्।’ उनले सबै कर्मचारीलाई तोकिएको कार्यक्षेत्रमा खटाउने काम भैरहेको बताए। 

प्रधानमन्त्री र विभागीय मन्त्रीले खटाइएको ठाउँमा नगए हाजीर नगराउने, जागिरवाट बर्खास्त गर्ने चेतावनी दिँदै आएपनि त्यस्ता कर्मचारीलाई कारबाही गर्न मन्त्रालयले अझै नजाने कर्मचारीलाई के गर्ने भन्ने कारबाहीको कुनै कदमनै चालेको छैन। खटाएका कर्मचारी कार्यक्षेत्र जानुको सट्टा केही खुलेआम आफ्नो सरुवा मिलाउन मन्त्री, नेतामार्फत लबिङ गर्दै आइरहेका छन्। सहसचिव न्यौपानेले कर्मचारीलाई पठाउन प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवले विभिन्न कार्यक्रममा निर्देशन दिएको भएपनि अहिलेसम्म कारवाहीबारे कुनै लिखित पत्रचार भने मन्त्रालयले नगरेको बताउँछन्। ‘विभिन्न कार्यक्रममार्फत मन्त्रीज्यू, सचिवज्यूले कर्मचारीलाई तोकिएको ठाउँमा खटाउन सहयोग नगर्ने, रमाना नदिने, हाजिर नगराउने कर्मचारीलाई पनि कारबाही गर्न निर्देशन त दिनुभएको हो,’ न्यौपानेले नागरिकसँग भने ‘कानुनमा खटाएको ठाउँमा नजानेलाई बर्खास्तसम्म गर्न सकिने व्यवस्था त छ तर अहिलेसम्म कुनै कारबाही भने भैसकेको छैन।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने खटाएको ठाउँमा नजाने कर्मचारीको गतहप्तादेखि हाजिर रोकिएको बताए। ‘खटाएको ठाउँमा नजाने कर्मचारीको गतहप्तादेखि हाजिरी रोकिएको छ,’ मन्त्री पण्डितले भने ‘सबै ठाउँबाट रिपोर्ट लिने काम भैरहेको छ, अब निजामती सेवा ऐनअनुसार कारबाही अघि बढ्छ।’ उनले हाजिर रोकिएकै दिनदेखि कारबाही प्रक्रिया सुरु भएको दाबीसमेत गरे। उनले खटाएको ठाउँमा नजाने कर्मचारीले जागिरबाट हात धुनुपर्ने बताए।

प्रकाशित: १९ चैत्र २०७४ ०२:३२ सोमबार

साढे दुई कर्मचारी कार्यक्षेत्र पुगेनन