राजनीति

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता हो: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बिचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् ।

सोमवार आफूद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बिचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताएका हुन ।

उनले दुई देशबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउनका लागि भूराजनीति र दुई देशका बिचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताए । उनले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तात्कालिक कारणहरू पनि रहेको उल्लेख गर्दै तात्कालिक कारणहरू भन्दा मुख्य कुरा अवधारणागत भिन्नता नै रहेको बताए । उनले अहिले काँग्रेस–एमालेको सरकार बन्नु सङ्ख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताए ।

अध्यक्ष थापाले आफू परराष्ट्र मन्त्री हुँदा चीनसँग पारवहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताए। उनले सो पारवहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

प्रकाशित: १० भाद्र २०८१ १८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App