राजनीति

परराष्ट्रमन्त्रीको भारत भ्रमण: औपचारिकता कि सम्बन्ध सुधार ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा राणा आइतबार नयाँदिल्ली पुगेकी थिइन्। भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमणलगतै नयाँदिल्ली पुगेकी राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, समकक्षी जयशंकर लगायतसँग भेटघाट गरिन्।

नेपाली कांग्रेसको समर्थनमा असार ३१ गते एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि राणा परराष्ट्रमन्त्रीको हैसियतमा पहिलो पटक नयाँदिल्ली गएकी हुन्। ओली नेतृत्वको सरकारलाई विभिन्न तहबाट संशयका साथ हेरिएका बेला परराष्ट्रमन्त्री राणाको नयाँदिल्ली भ्रमण भएको हो। यो भ्रमणलाई निकै चासोपूर्वक हेरिएको थियो। राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने वा नगर्ने कुरालाई लिएर नेपाली राजनीतिमा निकै टीकाटिप्पणी भएको थियो।

परराष्ट्रमन्त्रीले कुनै पनि देशको प्रधानमन्त्रीसँग भेट गर्नु वा नगर्नु त्यस देशको कूटनीति वा भ्रमण सफल वा असफलताको मानक होइन। भ्रमणले दिने परिणाम वा निर्णयहरू दुई देशका लागि महत्त्वपूर्ण हुनुपर्ने हो। तर प्रधानमन्त्री मोदीसँग भेट हुनु र नहुनुलाई नै नेपालको सरकार र राजनीतिक नेतृत्वप्रति भारतले हेर्ने दृष्टिकोण कस्तो छ भन्ने मापनयन्त्र जस्तो बनाउने गरिएको छ।

नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि दुई देशबीच बढेको चिसोपनाले २०७४ सालको आम निर्वाचनपछि गठन भएको केपी ओली नेतृत्वको सरकारप्रति भारत सन्तुष्ट नरहेको दाबी गरिएको थियो।

कांग्रेसको समर्थनमा ओलीकै नेतृत्वमा अहिले बनेको सरकारप्रति पनि भारत सकारात्मक नरहेको विश्लेषण गरिएका बेला राणाको भारतीय प्रधानमन्त्री मोदीसँगको भेटलाई सरकारको आयुसँगै जोडेरसमेत व्याख्या र विश्लेषण गरिएको छ।

दक्षिण एसिया, एसिया मात्र होइन, विश्वमै उदीयमान शक्ति राष्ट्र भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाले सोमबार साँझ भेट गरेकी थिइन्। उक्त भेटलाई लिएर नेपाली राजनीतिक वृत्तमा विभिन्न कोणबाट टीकाटिप्पणी र विश्लेषण भइरहेको छ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाले समाजिक सञ्जालमा दुई देशबीचको बहुआयामिक विषयमा छलफल भएको उल्लेख गरेका थिए। तर बहुआयामिक विषय केके हुन खुलाइएको छैन । खुला सिमाना रहेको नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो हो। भौगोलिक, सांस्कृतिक, सामाजिक र राजनीतिक विषयमा पनि दुई देशबीच धेरै समानता छन्।

भारतको स्वतन्त्रता आन्दोलनदेखि नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना र गणतन्त्र प्राप्तिसम्म भारतको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग रहेको छ। हिंसात्मक आन्दोलनमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन भारत सरकार र त्यहाँका नेताहरूको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ। तर केही दिनअघि प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिक दल र नेताहरूकै पहलमा शान्तिप्रक्रिया अघि बढेको दाबी गर्दै भारतको सहयोग र सहभागितालाई अस्वीकार गरेका थिए।

आर्थिक रूपले पछिल्ला वर्षहरूमा निकै छलाङ मारेको भारतको नेपालमा भएका राजनीतिक परिर्वतनमा प्रत्यक्ष वा परोक्ष सहयोग रहँदै आएको छ। तर राजनीतिक परिर्वतनपछि निर्माण हुने सरकारले भारतको राजनीतिक नेतृत्वलाई धन्यवाद दिँदै छिमेकीको चासो र चिन्तालाई सम्बोधन होइन, सोध्ने र सुन्नेसम्म पनि नगरेको जानकार बताउँछन्।

नेपाली राजनीतिक नेतृत्वले भारतीय पक्षसँग आर्थिक विकासका लागि सहयोग माग्न पनि नसकेको र उसको चिन्ता सम्बोधन गर्ने तत्परता पनि नदेखाएको जानकार बताउँछन्। भारतले आफ्नो चासो र चिन्ता नेपालको राजनीतिक नेतृत्वसँग राखे पनि केही विषयमा नेपाल आफैं खुलोस् भन्ने उसको चाहना रहेको जानकार बताउँछन्।

भारतीय चाहनालाई सम्बोधन गर्नुको साटो कतिपय ठाउँमा चिढ्याउने गरी नेपाल सरकार र राजनीतिक दलहरूले काम गरेको टिप्पणी आफूलाई भारत मामिलामा जानकार बताउनेहरूको छ।

केही वर्षअघि नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्री मोदीले संसद्मा सम्बोधन गर्दै पानी र जवानी एकैसाथ नरहने उल्लेख गरेका थिए। अबको केही दशकपछि विश्वमा ऊर्जा, खाद्यान्न र पानीको अभाव हुनेछ र विश्वको ध्यान यिनै तीन कुरामा केन्द्रित हुनेछ। नेपालको पानी उपयोगको पक्षमा भारत रहेको जानकार बताउँछन्।

भारत नेपालको ऊर्जा क्षेत्रमा लगानीका पक्षमा रहे पनि त्यसअनुसारको वातावरण बन्न नसकेको निकटहरूको दाबी छ। नेपाल सरकारले भारतलाई नै चिढ्याउने गरी उसले निर्माण गरेका आयोजनामाथि उत्तरी छिमेकी चीनलाई अर्को परियोजना बनाउन अनुमति दिएको जानकार बताउँछन्।

नेपालसहितका देशसँग खुला सिमाना रहेका कारण भारत आफ्नो सुरक्षामा कुनै चुनौती नहोस् भन्नेमा निकै चनाखो देखिएको छ। नेपालको भूमि कुनै पनि बहानामा आफूविरुद्ध प्रयोग नहोस् भन्नेमा मात्र होइन, आफ्नो सुरक्षा ‘अम्रेला’बाट नेपाल बाहिर नहोस् भन्ने चाहना पनि भारतको देखिन्छ।

नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) परियोजनालाई कसरी लिने भन्ने बहस चलिरहेको छ । यस विषयमा पनि भारतीय चासो निकै देखिन्छ। बिआरआईप्रति भारतको आशंका र भय छ। छिमेक पहिलो भन्ने नीतिअनुसार केही दिनअघि विदेश सचिव मिस्रीलाई भुटानपछि काठमाडौं उतारेको भारतको बिआरआईसहित सुरक्षामा चासो र चिन्ता छ।  

नेपालको आर्थिक विकास र समृद्धिमा पहिलेदेखि नै सहयोग गरे पनि जनस्तरमै भारत विरोधी मत निर्माण हुँदै गएको भारतीयको बुझाइ छ। उत्तरी छिमेकीसँग जोडिएका नाकाहरू वर्षौंदेखि बन्द हुँदासमेत त्यसका विषयमा आवाजसम्म नउठ्ने र नेपाली सञ्चार माध्यमले पनि त्यस विषयलाई चासो नदिने तर भारततर्फ केही भयो भने त्यसको असर जनस्तरमै पर्ने गरेको उनीहरूको बुझाइ छ।

एक अर्ब ४३ करोडभन्दा बढी जनसंख्या रहेको भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाबाट भारतको चासो र चिन्ताका साथै उसले नेपालसँग राखेको आशा र अपेक्षा के रहेछन् भन्ने विषयमा प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँग सोध्ने काम भयो कि भएन? पछिल्ला १० वर्षमा जलदेखि थलमार्ग मात्र होइन, सूचना र प्रविधिको क्षेत्रमा तीव्रतर आर्थिक विकास गरेर आफूलाई उदीयमान शक्तिका रूपमा स्थापित गरेको भारतसँग नेपालको विकास र समृद्धिका लागि सरकारका तर्फबाट के प्रस्ताव राखियो र लगियो?

नेपाल नीति परिर्वतन र विस्तारको पक्षमा भारत रहेको बताइएका बेला त्यहाँको समृद्धिको लाभ उठाउन परराष्ट्रमन्त्रीको भ्रमणमा के पहल भयो? दुई देशबीच रहेका आशंका र अविश्वास हटाउँदै एकअर्काको हित र समृद्धिमा काम गर्ने ठोस प्रस्ताव र पहल नेपालका तर्फबाट भयो कि भएन ? परराष्ट्रमन्त्री राणालाई भारत सरकारले उच्च प्राथामिकता त दियो तर उनले यो भ्रमणलाई केवल शिष्टाचारमा मात्र सीमित गरिन् कि दुई देशबीचको सम्बन्ध विस्तारलाई नयाँ ढंगले अघि बढाउने थालनी गरिन्  ?

‘सद्भाव अभिवृद्धिमा भ्रमण सहयोगी’

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमण दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न सहयोगी भएको बताएकी छिन्। भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै राणाले दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन भ्रमण फलदायी भएको दाबी गरिन्।

‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्ध गर्न मार्गदर्शन गरेको छ,’ उनले भनिन्।

भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रूपमा भेटवार्ता भएको जनाउँदै उनले नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको जानकारी दिइन्।

भारतीय समकक्षीसँगको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित, ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतमा सहयोग आदानप्रदान र सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी पनि उनले दिइन् । राणा आइतबार नयाँदिल्ली गएकी थिइन्।

प्रकाशित: ७ भाद्र २०८१ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App