राजनीति

कमला पुल अनशन: पूर्व प्रधानमन्त्री भट्टराईले देखाए चासो, सरकार मौन

मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमा नयाँ पक्की पुल मग गर्दै जारी सामूहिक आमरण अनशनप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चासो व्यक्त गरेको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले उठाएका जायज माग यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन् , 'तराई-मधेसको जीवन नली (लाइफ लाइन) को रूपमा रहेको हुलाकी लोकमार्गमा पर्ने सिराहा र धनुषाको बिचमा रहेको कमला नदीमाथि अहिलेसम्म भरपर्दो आधुनिक पुल नबन्नु र त्यसको निम्ति सरोकारवालाहरू “सामूहिक आमरण अनसन” जस्तो कठोर सङ्घर्षमा उत्रिन पर्नु विडम्बनापूर्ण छ।'

यो राष्ट्रिय गौरवको योजना अन्तर्गतको पूर्वाधार निर्माण संघीय सरकारको दायित्व अन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले यथाशीघ्र जनताका जायज माग सम्बोधन गरोस्।  प्रदेश सरकार अन्तर्गतका निकायले पनि सहजीकरण गरून्।

'म आफै पटक पटक त्यो मार्गबाट यात्रा गरेकाले भुक्तभोगी छु१ साधन श्रोत र प्रक्रियाका कुरा त प्राथमिकीकरण गरेर राज्यको नेतृत्वले मिलाउने हो', उनले लेखेका छन्।

हुलाकी राजमार्ग अन्तर्गतको जनकपुरधामदेखि सिरहासम्मको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र छ।

ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले कमला नदीमा बन्दै गरेको पुल भासिएपछि पुनःनिर्माणका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन। त्यसपछि सिरहाका १० जना अभियन्ता सामूहिक आमरण अनशनमा बसेका हुन्।

इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि तीन दिन देखि आमरण अनशन जारी छ।

हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इन्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका¬६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, मनिषकुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य इन्जिनियर रुपेश यादव, इन्जिनियर शिवशङ्कर यादव र सोही गाउँपालिका—३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन्।

सिरहा र धनुषाबिच द्रुत सम्पर्कको सेतु हो, कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धति जोडिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बिचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौँले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुई पटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

प्रकाशित: ६ भाद्र २०८१ १२:१४ बिहीबार

#Kamala Pull #Baburam Bhattrai