राजनीति

राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान गर्नु सरकारको उद्देश्यः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए। उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए।

उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पारे। त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको बताए।

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताए। 

प्रकाशित: ३ भाद्र २०८१ १४:२९ सोमबार

#Ramesh Lakahk