राजनीति

संगठन बनाउन गाउँ पस्यो कांग्रेस

जाजरकोट – स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा हार बेहोरेको  नेपाली कांग्रेस जाजरकोटले जिल्लामा जनतासँग चुनावी समीक्षा तथा संगठन निर्माण अभियान सुरु गरेको छ। चुनाव हारेपछि निरास बनेका  कार्यकर्ता र शुभेच्छुकहरुलाई हौसला दिन अभियान सुरु गरिएको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ। 

चुनाव पछि पार्टीका उम्मेदवार र नेताहरु गाउँमा देखिन छोडेको कार्यकर्ताको ब्यापक गुनासो आएपछि अभियान सुरु गरिएको स्थानीय नेता वेदराज सिंहले वताए। सिंहले अबको पाँच बर्ष संगठन बलियो बनाउने र कुसल प्रतिपक्षको भूमिका निभाउँदै सरकारका गतिविधिहरुमा  निगरानी राखिने बताए। 

गत बर्षको चैत्र १५ गते  खलंगाको थाप्लेचौरमा हत्या गरिएका  कांग्रेस नेता रविन्द्रसम्सेर शाहको प्रथम बार्षिकीको अवसर पारी अभियान सुरु गरिएको बताइएको छ। पार्टीका केन्द्रिय सदस्य हृदयराम थानीको उपस्थितीमा खलंगामा  बृहत कार्यकर्ता भेला गरिएको सिंहले बताए। कांग्रेसले दुर्गम टालेगाउँमा पनि आमसभा गरेको छ। 

नेपाली कांग्रेस क्षेत्र नम्वर १ का  क्षेत्रिय सभापति  महेन्द्रवहादुर शाहका अनुसार जिल्ला भरिका अगुवा कार्यकर्ता र नेताहरुको भेला गरेर  कांग्रेसले  गाउँ केन्द्रित कार्यक्रम गर्नुका साथै कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएका छन्। शाहले आफनो क्षेत्र भित्रका दुइ नगरपालिका र दुइ  गाउँपालिकाहरुका ४० वटै वडामा पुगेर संगठन निर्माण, प्रशिक्षण, चुनाव हारको समीक्षा तथा आगामी योजनाका बारेमा कार्यकर्ताकै विचमा व्यापक छलफल सुरु गरिएको  वताए। 

दुर्गम कुसे गाउँपालिकामा पार्टीको  कार्यक्रम भएपछि उत्साहि वनेका   दैवेसविक्रम शाहीले नेताहरु गाउँमूखी भएकोमा  खुशी लागेको वताए।  कांग्रेसले आगामी  बर्षको वजेट तथा  कार्यक्रम निर्माण अघि नै  आफ्ना सवै  नेता कार्यकर्ताहरुलाई  संगठन निर्माण र  चुनाव समीक्षा कार्यक्रममा सक्रिय बनाएर जनपक्षीय  बजेट र योजना निर्माणमा  सहयोग गर्ने कांग्रेस जाजरकोटका सचिव  खडक विसीले वताए। 

जिल्लाका तीन  नगरपालिका र चार गाउँपालिका मध्य कांग्रेसले  गत बैशाखमा  सम्पन्न स्थानीय चुनावमा  दुइ गाउँपालिकामा मात्र चुनाव जितेको थियो भने संघ प्रदेशमा कुनै स्थानबाट बिजयी हुन सकेन।

प्रकाशित: १८ चैत्र २०७४ ०६:४७ आइतबार

संगठन बनाउन गाउँ पस्यो कांग्रेस