राजनीति

कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा लुम्बिनी सरकारले पाएन पूर्णता

९ साउनमा बनेको लुम्बिनी प्रदेशको नयाँ सरकारले पूर्णता पाउन सकेको छैन।

नयाँ सरकारको नेतृत्व गर्दै एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले ९ साउनमा मुख्यमन्त्रीको शपथ खाएका थिए। मुख्यमन्त्री सहित कांग्रेसबाट ४ तथा एमालेबाट ४ मन्त्रीले समेत शपथ खाएका थिए। कुल १२ मन्त्रालय रहेको यो प्रदेशमा थप तीन मन्त्री नियुक्त हुन बाँकी छन्।

अहिले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रिक्त छन्। यी तिन वटै मन्त्रालय अहिले मुख्यमन्त्री आचार्यले सम्हालेका छन्। ‘अब तीन मन्त्री तिन मन्त्री नियुक्त हुन बाँकी रहेको अवस्था हो,’सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले भने ‘तीन मन्त्री पनि चाँडै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री ज्यू हुनुहुन्छ।’

बाँकी रहेका तीन मन्त्रालय मध्य एउटा कांग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दलहरुलाई दिने तयारीमा मुख्यमन्त्री छन्। कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय दिने गरी भागबन्डा मिलिसकेको छ। हाल सरकारमा ४ मन्त्रालय सहित सहभागी भएको कांग्रेसको भागमा ५ मन्त्रालय परेका थिए। ९ साउनमै कांग्रेसका ५ मन्त्रीले नै शपथ लिने कार्यक्रम तय समेत भएको थियो । तर अन्तिम समयमा४ मन्त्रीले मात्रै शपथ लिएका थिए।

सरकारमा कांग्रेसले जन्मजय तिमिल्सीनालाई सरकारमा पठाउने भनेको थियो। उनी शपथका लागि भन्दै ९ साउनमा बुटवल पुगिसकेका समेत थिए। तर अन्तिम समयमा उनलाई मन्त्री बन्नबाट रोकिएको थियो। कांग्रेस प्रदेशका प्रमुख सचेतक समेत रहेका तिमिल्सीना मन्त्री बन्न रोकिएपछि रुष्ट बनेका छन्। उनले प्रमुख सचेतकबाट राजीनामा समेत दिइसकेका छन्। उनले २१ साउनमा राजीनामा दिएका हुन्।

कांग्रेसको भागमा परेको एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा कांग्रेस भित्र छलफल चलिरहेको छ। कांग्रेसले बाँकी एउटा मन्त्रालयमा पठाउने सांसदको नाम चयन गर्न नसक्दा पनि सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ। ‘कांग्रेसबाट बाँकी एउटा मन्त्रालयमा कसलाई पठाउने भन्ने बिषयमा छलफल भइरहेको र नाम टुंगो लगाउन समय लागेकाले पनि सरकारको पूर्णतामा केही समय लागेको हो,’ सरकारका प्रवक्ता पन्थीले भने ‘कांग्रेसले मन्त्री बन्ने नाम टुंगो लगायो भने सहज हुने थियो।’ 

कांग्रेसबाट तिमिल्सीना सहित नीमा गिरी, भुवनेश्वर चौधरी लगाएतको नाम मन्त्री बन्ने चर्चामा छ। बाँकी रहेको मन्त्रालय कांग्रेसको संस्थापन इतरको कोटामा परेकाले इतर समूहका चौधरी मन्त्री बन्ने बढी सम्भावना रहेको चर्चा चलेको छ।

कांग्रेसले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएको खण्डमा बाँकी रहने थप दुई मन्त्रालयमा सरकारको समर्थन गरेका साना दलहरुलाई मिलाउने पन्थीले जानकारी दिए। प्रदेशमा कांग्रेस, एमाले सहित थप चार साना दलहरु सरकारको समर्थनमा रहेर अघि बढ्ने भन्ने निर्णय भएको छ। दुई मन्त्रालयमा साना चार दलको दाबी रहने छ।

‘कांग्रेस एमाले सहित सरकारलाई समर्थन गरेका अरु चार दलहरुलाई पनि सँगै लिएर जाने भन्ने सहमति प्रदेशमा भएको छ,’ प्रवक्ता पन्थीले भने ‘दुई मन्त्रालय चार दल मध्य दुई दललाई भाग मिलाइने छ।’ उनका अनुसार मुख्यमन्त्री आचार्य सरकारको पूर्णताका बिषयमा कांग्रेस र अरु चार दलहरूसँग निरन्तर छलफलमा छन्।

 ‘कांग्रेसका दलका नेता तथा अरु चार दलका बिचमा मुख्यमन्त्री ज्यूले सरकारको पूर्णताका बिषयमा समन्वय गरिरहनु भएको छ,’ प्रवक्ता पन्थीले भने  ‘मुख्यमन्त्री ज्यूको विश्वासको मत लिने कार्यक्रम र सरकारको पूर्णताको विषय सँगसँगै टुङ्ग्याउने तयारी भइरहेको छ।’ मुख्यमन्त्री आचार्यले भदौ ४ गते संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ  मुख्यमन्त्री आचार्यले विश्वासको मत लिए लगत्तै सरकारको पूर्णताको विषय टुङ्गिने सरकारका प्रवक्ता पन्थीले जानकारी दिए। 

प्रकाशित: ३२ श्रावण २०८१ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App