राजनीति

डेंगीबारे स्वास्थ्यमन्त्री: भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा राख्नुस्

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।

डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाइ निगरानी गर्न आवश्यक रहेको बताए। उनले बढी मानिसहरूको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए।

लामो बाहुले लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ। उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भूमिका खेल्नुपर्ने उल्लेख गरे। उनले टेलिफोनको रिङटोनमा डेंगुबाट बच्ने उपायहरुको सूचना दिने व्यवस्था मिलाउने पनि बताए।

कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रवार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न पनि उनले आग्रह गरे। भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने उनले बताए। 

प्रकाशित: ३१ श्रावण २०८१ १२:५१ बिहीबार

#Pradeep Poudel #dengue