राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन्।

आज बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मतका लागि उनले सोमवार नै प्रदेश सभामा पत्र पठाएका थिए।

नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ।

यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११–११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन्।

जसमध्ये मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ जनाले मत दिने देखिएको छ।

प्रकाशित: ३० श्रावण २०८१ ०८:३५ बुधबार

सुदूरपश्चिम प्रदेश कमलबहादुर शाह