राजनीति

जनार्दनको प्रश्न: पार्टी खुम्चिनेतिर उन्मुख छ,जिम्मेवारी लिन नेतृत्वकाे किन आनाकानी ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी खुम्चिनेतिर उन्मुख रहेको र यसको जिम्मेवारी लिन नेतृत्वले किन आनाकानी गरेको भन्दै प्रश्न उठाएका छन्।

पार्टीको स्थायी समिति बैठकमा शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको र यसको जिम्मेवारी लिन पुष्पकमल दाहालले आनाकानी गरेको उनको भनाइ छ।

उनले भनेका छन्, '२०६४ सालको चुनावका वेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्‌। हामी शून्यतर्फ उन्मुख छौँ। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ। विडम्बना के छ भने, आज पार्टीमा जो जति छन्‌, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्‌। यसको जिम्मेवारी अहिलेको नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौँ ?'

उनले पार्टी साँघुरिँदै जानुको कारण पनि औँल्याएका छन्। पार्टी साँघुरिँदै जानुको मूल कारण जनता नभएर पार्टीले उठाएका नारा, दिएका आश्वासन सरकारमा हुँदा पूरा गर्न नसक्नु उनको ठम्याइ छ।

'हाम्रो पार्टीको साँघुरिँदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो। शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाई उठाई, रहनसहन राजा महाराजाको जस्तो भएको जनताले मन पराएनन्‌। न हामीलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले त्यो गर्न सक्ने अवस्था छ न सुमसुम्याउन चाहनेहरूले त्यो अवसर पाउने स्थिति छ,' उनले भनेका छन्।

प्रकाशित: २७ श्रावण २०८१ १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App