राजनीति

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन: कांग्रेस महामन्त्री शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन। महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।

 कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई थियो । महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महसुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए। उनले आफूहरूबिच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे । 

महामन्त्री शर्माले सत्तारुढ दलहरुबीच विमतिका कयौँ विषयहरू रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने कुरा हुनै नसक्ने बताए । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको बताए ।महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरूको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए। मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरूको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो ।

प्रकाशित: २६ श्रावण २०८१ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App