राजनीति

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन बोलाइएको छ ।  

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक साउन २७ गते आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको छ । प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुख भीमबहादुर भण्डारीलाई पठाइसकेको छ ।  

सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले बुधबार रातिदेखि लागू हुने गरी विशेष अधिवेशनको अन्त्य गरेका थिए । सोपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखले बिहीबार नै प्रमाणीकरण गरेका थिए ।  

प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री भएका शाहलाई सुविधाजनक बहुमत छ । उनले सोही अधिवेशनबाट चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी पनि गरेका छन् ।  

प्रकाशित: २५ श्रावण २०८१ १५:५९ शुक्रबार

#Sudurpachim Province #Sudurpachim Pradessava #Kamal Bahadur Shaha