राजनीति

सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरु लाभान्वित छन्ः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन्।

शुक्रवार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम शुरु भएको बताए। उनले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए। नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय रहेको उनले जिकिर गरे।

सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उनले उल्लेख गरे। कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको उनले बताए। 

प्रकाशित: २५ श्रावण २०८१ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App