राजनीति

माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ की भन्ने चिन्ता नलिन आग्रह गरे । उनले अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे ।

उनले माओवादीबाट विगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए । उनले फुटेका नेताहरू एकजुट गरी पुनः एक पटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए । उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरूलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए । उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए । 

उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरू छन्, गुटै गुट, पार्टी फेरि फुट्ने पो हो की रु म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरू पनि सबै जुट्नेतिर आएका छन् । छिटै तपाईँहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरू पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ । मलाई विश्वास छ, ती साथीहरू छिटै पार्टी एकतामा आउँछन् । यो पार्टी फुट्ने होइन, फुटेका साथीहरू पनि जुट्ने परिस्थिति बन्छ, म त्यसको एक पटक फेरि नेतृत्व गर्ने आँट मैले गरेको छु । हाम्रोभित्र तपाईँहरूले सुन्नुभएको छ, यस्तो भयो, त्यस्तो भयो, आदि इत्यादि । यो पार्टीलाई कुनै हालतमा फुट्न दिइँदैन । फुटेकालाई जुटाइन्छ । फुटहरू जो छन्, तिनलाई यो पटक कार्यक्रममार्फत अन्त्य गरिन्छ । सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने सुरुवात गरिन्छ ।’

अध्यक्ष दाहालले नयाँ कार्य योजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए । उनले आफूले एक ढङ्गको विद्रोहको झन्डा उठाइसकेको दाबी गरे । उनले समाजवादको निम्ति प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झन्डा उठाएको बताए । 

प्रकाशित: २३ श्रावण २०८१ १६:१० बुधबार

#CPN (Maoist Center) #Former Prime Minister Pushpa Kamal Dahal