राजनीति

सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो: कानुनमन्त्री चौरसिया

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताएका हुन।उनले १८ वर्षदेखि अल्झिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरूका बिचमा सहमति जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताए।

उनले प्रतिवेदन तयार भइसकेपछि शीर्ष नेताहरुलाई देखाएर संसदमा पेस गरिने जानकारी दिए । मन्त्री चौरसीयाले संसदबाट सर्वसम्मत रुपमा पारित गर्ने गरी शीर्ष नेताहरूले सम्बोधन गर्ने पनि बताए । 

उनले भने – ‘टिआरसीमा १८ वर्षदेखि सहमति हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरू, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, माओवादीका जनार्दन शर्माको विशेष पहलमा यो सहमति भएको छ । त्यसले एउटा कोसेढुंगाको रुपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने छ । प्रतिवेदन तयार हुँदै छ । चाँडै प्रतिवेदन नेताहरुलाई देखाएर संसदमा पेस गर्नेछौ।संसदमा सबै पार्टीका शीर्ष नेताहरूले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्ने गरी सम्बोधन पनि गर्नु हुनेछ। पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो । देशमा सुशासन कायम गर्ने र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरू।’ 

मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु रहेको बताए।त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरू रहेको उनले उल्लेख गरे ।

प्रकाशित: २१ श्रावण २०८१ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App