राजनीति

५० वर्षमा वडाध्यक्ष खनालको पढ्ने धोको, १२ कक्षा उत्तिर्ण

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका ५० वर्षीय खनालले गत वर्ष ११ र यस वर्ष १२ को परीक्षा दिएका थिए ।

 शुक्रवार प्रकाशित परीक्षा अनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन् । अघिल्लो वर्ष उनले ११ पास गरेका थिए ।आफ्नै वडामा रहेको बाल जीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी समेत सम्हालेपछि उनी कक्षा ११ मा भर्ना भएका थिए । स्कुलको पढाइ सुधार्ने अभियानमा लागिपरेका खनाल आफैं ११ मा भर्ना समेत भएका थिए । 

१२ कक्षा पनि पास गरेँ । अब कसैले सोध्दा प्लस टु पास गरेको छु भन्न सक्ने भएको छु, वडा अध्यक्ष खनालले खुसी हुँदै भने, ‘पढ्ने रहरलाई उमेरले छेक्दैन रहेछ भन्ने बुझेको छु । मैले रहरसँगै मेहनत पनि गरेँ । आज सफल भएको छु धेरै खुसी लागेको छ । खनालका दुई वटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । पढाइलाई थप अघि बढाउने नबढाउने विषयमा भने निर्णयमा नपुगिसकेको उनले बताए ।

१२ को परीक्षा दिदै मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल (फाइल तस्वीर)

 खनाल मनहरिको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा अध्यक्षको जिम्मेवारी अझै ३ वर्ष बाँकी छ । जनताको काम गर्नुपर्ने दायित्व पनि छ । कम्तीमा १२ पास गरौँ भन्ने सोचले ११ मा भर्ना भएको थिएँ, एउटा अठोट पूरा भएको छ’, उनले भने,‘अब पढाइलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा परिवारसंग सल्लाहकार गर्न बाँकी रहेको छ । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन काला खेतीले वडा अध्यक्ष खनालको नतिजाले अरूलाई समेत हौसला मिल्ने प्रतिक्रिया दिए । हामी निर्वाचित भएर आए देखी नै मनहरिको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको प्रयास गरिरहेका छौं काला खेतीले भने, यहि अवस्थामा वडा अध्यक्षले १२ पास गरेको खबर सुन्दा खुसी लागेको छ । पढ्न चाहनेलाई उमेरले बाधा पुराउँदैन भन्ने यो गतिलो उदाहरण हो ।

प्रकाशित: १८ श्रावण २०८१ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App