सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरु आफैँ संलग्न रहेको आरोप लगाएका छन्।
बुधबार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
तराईका पोलिटिसिएनहरुले कुनै न कुनै रुपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको सांसद पन्तको जिकिर थियो।
उनले सबै राजनीतिक दलका मानिसहरुको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्नका लागि सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले भने ‘तराईका पोलिटिसिएनहरु कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौं। यो दल, त्यो दल नभन्नुस्। तराईको यो सिरियस समस्या पनि छ। यो कुरामा सरकारले कडाई गर्नसक्यो भने राम्रो हुन्छ। जब अपराधका घटनामा पोलिटिकल मान्छेहरु इन्भल्भ भएपछि पुलिसलाई गाली गरेर रोकिन्न।’
सांसद पन्तले खुला सीमानाको नियमनका कडाई गर्नसके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा न्यूनीकरण गर्न सकिने दाबी गरे।
‘हाम्रो तराईतिरको असुरक्षाका मूल कारण भनेको खुला सीमाना हो। त्यसकारण तराईको अपराधलाई नियन्त्रण गर्ने हो भने खुला सीमानालाई नियमन गर्न सुरु गरौं। र त्यसलाई बिस्तारै अरु अन्तर्राष्ट्रिय सीमानाजस्तै तहमा पुर्यायौँ भने तराईमा देखिएको आधा अपराधको घटना नियन्त्रण हुन्छ।’
सांसद पन्तले सुरक्षाकर्मीहरुलाई अत्यावश्यक बस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए।
प्रकाशित: १६ श्रावण २०८१ १८:१३ बुधबार