परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छिन्।
बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।
उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरिन्।
उनले भनिन् "सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन्। हामीले काम गर्नसक्छौँ। हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन। किनभने हामीले गरेर देखाइसकेका छौँ। हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो। हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन।"
उनले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन्। अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि उनले सुनाइन्।
परराष्ट्रमन्त्री देउवाले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको उल्लेख गरिन्। उनले दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिबद्धता जनाइन्।
उनले भनिन् "अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ। हुनतः म त्यति होइन, अरु अरु हुनुहुन्छ। इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ। अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो। हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ। दुई पार्टी भएपनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ।’
मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्याउने दाबी गरिन्।
प्रकाशित: १६ श्रावण २०८१ १५:४५ बुधबार