राजनीति

बागमतीको मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्दै

नेपाली कांग्रेसले आज बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्दैछ। कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन्।

यसअघि सोमवार बिहान १० बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने भनिए पनि अन्तिममा स्थगित भएको थियो। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको थियो। प्रदेश प्रमुखले दिएको समयसीमा बाँकी नै रहेकोले सोमवारको कार्यक्रम स्थगित गरिएको कांग्रेसका सांसद कुन्दनराज काफ्लेले बताए।

कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको थियो। एमाले संसदीय दलका नेता तथा केही सांसद्हरु काम विशेषले हेटौँडा बाहिर रहेकोले सोमवारको कार्यक्रम स्थगित भएको बताइएको छ। एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको काफ्लेले बताए।

‘प्रदेश प्रमुखले आज अपराह्न ५ बजेसम्मको समयसीमा दिनुभएको छ। हिजो दाबी गरेपनि आज दाबी गरेपनि कुनै समस्या छैन’, उनले भने।

केन्द्रमा कांग्रेस र एमालेको बिचमा सत्ता समीकरण बनेपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार पदबाट राजीनामा दिएका थिए। जम्कट्टेलले राजीनामा दिएपछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए।

नयाँ गठबन्धनमा रहेको कांग्रेस र एमालेसँग यहाँ स्पष्ट बहुमत रहेको छ। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद आवश्यक रहेकोमा कांग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना सांसद रहेका छन्। केन्द्रमा भएको सहमति बमोजिम बागमती प्रदेश कांग्रेसको भागमा परेको हो। यहाँ कांग्रेसको नेतृत्वमा पहिलो पटक सरकार गठन हुन लागेको हो।

मन्त्रालयको भागबण्डा टुङ्गिएन

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्दै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई अघि बढाउने सहमति भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन। दुवै दलमा मन्त्री पदमा दाबी गर्नेको संख्या बढेसँगै भागबन्डाको विषय टुङ्गोमा पुग्न नसकेको हो।

बागमती प्रदेशमा हाल १३ मन्त्रालय रहेकामा कांग्रेस र एमालेले कति र कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुन नसकेको हो। यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता टिकाउन मन्त्रालय संख्या ११ बाट १३ पु¥याएका थिए। मन्त्रालय संख्या घटाउनुपर्ने माग समेत उठिरहेको अवस्थालाई यस विषयलाई दुवै दलले वास्ता गरेका छैनन्।

मन्त्रालय भागबण्डा मिलाउन कांग्रेस संसदीय दलका नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पटक पटक छलफलमा जुटेपनि सहमतिमा पुग्न भने नसकेको बताइएको छ। एमालेले कांग्रेसलाई मुख्यमन्त्रीसहित ६ र एमालेलाई ७ मन्त्रालय दिनुपर्ने माग गरेको थियो। एमालेको भन्दा कांग्रेससँग १० जना सांसद बढी रहेको भन्दै लामाले मन्त्रालय संख्या कांग्रेसलाई बढी दिनुपर्ने अडान राखेका छन्। मन्त्रालयको भागबण्डा नटुङ्गिँदा मन्त्री पदको दाबी गर्ने सांसदको सङ्ख्या समेत बढ्दै गएको छ।

प्रकाशित: ८ श्रावण २०८१ ०७:०७ मंगलबार

#Nepali Congress #CPN UML