राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सांसदहरूद्वारा सोधिएको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिनेछन्। उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ।

गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो। प्रधानमन्त्री ओलीले आइतवार प्रतिनिधि सभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए।

प्रकाशित: ७ श्रावण २०८१ ०७:५७ सोमबार

#Samsad #KP Sharma Oli