राजनीति

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेश गर्दै

नेपाली कांग्रेसले आज बागमतीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछ। कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न भोलि साँझ ५ बजेसम्मको समय तोकेका थिए।

कांग्रेस संसदीय दलका नेता लामाले आज नै दाबी पेश गर्ने तयारी भएको जानकारी दिए।

‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ’, उनले भने, ‘नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बिहान बहुमत प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु।’

प्रकाशित: ७ श्रावण २०८१ ०६:३८ सोमबार

#bagmati