राजनीति

सर्वसम्मत संविधान संशोधन हुन्छ, नभए त्यसैले नै बाटो दिएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत संविधान संशोधन हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा प्रस्तुत विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जवाफ दिएका हुन्। 

‘संविधान संशोधनीय दस्ताबेज हो, यो गतिशील जीवन्त दस्ताबेज हो। यो जनताको मागबमोजिम संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने,‘ संविधान संशोधन रहरको विषय होइन, आवश्यकताको विषय हो। रहर लागेर गर्ने होइन। कुनै आग्रह पूर्वाग्रहले संशोधन गर्ने विषयलाई यसो गर्ने उसो गर्ने भन्दैनौँ।’

आफूहरूले संविधान संशोधन आग्रहका रुपमा यसै हुनुपर्छ भन्ने पनि नभनेको उनले बताए। ‘आग्रहहीन देश र जनताको आवश्यकता, समयको माग र विकासका निम्ति जे जस्तो कदम चाल्नुपर्छ,’ उनले भने।

यी सबै काममा सबैको छलफलको निष्कर्षस्वरुप गरिने पनि प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘मलाई विश्वास छ, सबैको छलफलका साथ गरिनेछ।’

तर सदैव सर्वसम्मत नहुन पनि सक्ने उनले बताए। ‘निर्माणका बखत सबै सहमति थिएन, पहिलो संशोधनका बेला केही माननीयको सहमति थिएन। दोस्रो संशोधनका बेला सर्वसम्मत भएको थियो। विषयले गर्दो रहेछ, अनुभूतिले गर्दो रहेछ, आवश्यकताले गर्दो रहेछ सहमति,’ ओलीले भने।

कथंकदाचित एक ठाउँमा आउन नसके संविधानले आफ्ना प्रकृया आफै निर्धारण गर्ने उनले बताए। उनले भने,‘देश र जनताका पक्षमा, अग्रगमनका पक्षमा संविधान संशोधन गरेर अझ प्रभावकारी बनाइनेछ।’

प्रकाशित: ६ श्रावण २०८१ १७:५७ आइतबार

#KP Sharma Oli #Prime Minister Kp Sharma Oli