राजनीति

उपसभामुख विवादमा रास्वपाले भन्योः आर्थिक लेनदेन भएको प्रमाण फेला परेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरको विवादित पत्रबारे खण्डन गरेको छ।

रास्वपाले आज बिहान एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा उपसभामुख रानामगरको पत्रबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सोबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको बताएको छ।

भिसा अन्तर्वार्ताका लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिस झाले सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डिपी अर्यालले गरेको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको पनि बताए।

पार्टीका कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कुटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ। उपसभामुखज्यू लगायत अन्य नेताहरूले कुटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए–नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानविनका लागि रास्वपा सधैं तयार रहेको जानकारी गराउन चाहन्छौं।’

रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख विभिन्न प्रतिष्ठित राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित भएको र उज्यालो छविकै कारण रास्वपाले उनलाई उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको पनि बताएको छ। यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहेको पनि रास्वपाले प्रष्ट पारेको छ।

रास्वपाले भनेको छ, ‘हालसम्म उपलब्ध तथ्य र प्रमाणले कतै पनि समाचारमा अतिरञ्जन गरिएजस्तो भिसा माग गरिएको वा आर्थिक लेनदेन भएको आधार देखिँदैन। भिसा मितिको सहजताका लागि मात्र अनुरोध गरिएको पत्र पदीय मर्यादा अनुरुप भएन कि भन्नेबारे आइरहेका दृष्टिकोणप्रति उहाँ स्वयंले नै विज्ञप्ति मार्फत् गम्भीर ध्यानाकर्षण भएको बताइसक्नुभएको परिप्रेक्ष्यमा जबर्जस्ती बिना प्रमाण ’मानव तस्करी’ जस्तो आरोप लगाउनु निन्दनीय छ।’

संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: ६ श्रावण २०८१ ०९:०० आइतबार

#rastriya swatantra party #Maneesh jha #undira ranamagar