राजनीति

बेवास्तामा भुटानी राजबन्दी

बायाँबाट क्रमशः रामबहादुर राई, मानबहादुर खालिङ राई र मधुकर मगर। तस्बिर सौजन्य: विकास रौनियार

करिब ३५ वर्षअघि सुरु भएको भुटानी शरणार्थी समस्याको समाधान अझै गर्न सकिएको छैन, पीडितको घाउमा मलम लााउन सकिएको छैन। यसैबेला झन्डै तीन दशकदेखि भुटानको जेलमा राखेर नेपाल पठाइएका आस्थाका बन्दीहरूको समस्या नयाँ रूपमा फेरि देखिन थालेको छ। आगामी केही वर्ष यस्ता राजबन्दीलाई भुटानबाट निकालेर भारत हुँदै नेपालमा ल्याउने क्रम चल्नेछ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार अपराह्न आयोजना गरेको ‘विश्वले नदेखेका भुटानका राजबन्दी’ सम्बन्धी छलफल कार्यक्रममा ती भुटानी आस्थाका बन्दीका कुरा सुन्दा नेपालीका आँखा रसाइरहे। तिनको यस्तो अवस्थालाई सहजीकरण गर्न न संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग (युएनएचसिआर) न नेपाल सरकार नै अग्रसर देखिएका छन्।

कार्यक्रममा भुटानी जेलमा ३२ वर्ष थुनामा रहेका रामबहादुर राई, ३० वर्ष थुनामा रहेका मधुकर मगर र २० वर्ष थुनामा रहेर छुटेका मानबहादुर खालिङ राईले आफ्नो कठिन अवस्थाबारे जानकारी गराए। उनीहरूसँग न खानेबस्ने ठाउँ छ न कुनै परिचयपत्र । यति मात्र होइन, उनीहरूको परिवारसमेत छिन्नभिन्न भएको छ।

नेपाल आएका भुटानी शरणार्थीको ठुलो हिस्सा तेस्रो देशमा बसोबासका निम्ति गएका कारण अहिले करिब ६ हजार जना छन्। नेपालमा रहेका शरणार्थीलाई पनि अन्तर्राष्ट्रिय निकायले सहयोग गर्न छाडिसकेका छन्। भर्खरै भुटानबाट निकाला गरिएका यी आस्थाका बन्दीसँग थुनाबाट निस्कँदा भुटान प्रहरीले दिएको कागजबाहेक अन्य कुनै परिचयपत्र छैन।

धेरै वर्ष जेलमा रहेका र यातनाले गर्दा राम्ररी बस्नसमेत नसक्ने अवस्थामा छन् उनीहरू। ‘उडिराखेको चरालाई धेरै वर्ष पिँजडामा राखेर छाडिएजस्तै म जेलबाट निस्किँदा निकै खुसी भएँ,’ ६३ वर्षीय रामबहादुरले भने, ‘नेपाल आइपुगेपछि म निकै दुःखी भएँ, न गाँस छ न बास।’

उनले जीवनको आधा हिस्सा जेलमै बिताए। धन्न, उनले आफ्नी एउटी छोरीलाई भेट्न पाए। विदेश पुगिसकेका दुई छोरा कहाँ छन् भन्ने खोजी बाँकी नै छ।

मानबहादुरको अवस्था पनि अन्य दुईजनाकै जस्तो छ। मानबहादुर रामबहादुर र मधुकरभन्दा पहिला यहाँ आएका हुन्। त्यसैले भर्खरै भुटानी जेलबाट छुटेका रामबहादुर र मधुकरसँग उनले पनि आफ्ना अनुभव साटेका थिए।

परिचयहीन शरणार्थीका रूपमा रहेका उनले भने, ‘शिविरमा कुनै आधार छैन, धेरै पीडित छौं।’ मधुकर यतिबेला एक्लै छन्। छोराछोरी र पत्नी अमेरिकामा पुनर्वासका लागि गएपछि उनी यहाँ एक्लो भएका छन्। जेलबाट छुटेपछिका सुखद कल्पना अहिले पीडामा परिणत भएको छ। ‘सम्बन्ध साइनो पनि निकटतामा मात्र हुने रहेछ,’ उनी सुस्केरा हाल्छन्, ‘अहिले आएर नेपाल नआएको भए हुने रहेछजस्तो लागेको छ।’ तर उनले जेलबाट छुटेको दिनपछि शुक्रबार फेरि खुसी भएको अनुभव सुनाए। उनले आफूलाई सुन्ने मानिस देखेर खुसी लागेको बताए। ‘भोटेले कुटेको शरीर दुखेर रातभरि सुत्न सक्दिनँ,’ उनले भने।

भुटानी जेलमा बसेका यी आस्थाका बन्दीलाई भारत हुँदै नेपाल ल्याएर छाडिएको हो। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार कसैलाई पनि देशनिकाला गर्न पाइँदैन। उनीहरूको अवस्था भने कहालीलाग्दो छ। यसरी नै सन् १९९० को दशकमा भुटानी शरणार्थीलाई भारतको बाटो भएर नेपालसम्म आउने बाटो दिइएको थियो। झापास्थित शरणार्थी शिविरमा बसेका उनीहरूलाई भुटानमा जान नदिई धेरैलाई तेस्रो मुलुकमा बसोबासको व्यवस्था मिलाइएको थियो।

‘हामी भुटानी पनि होइन, हामी भारतीय पनि होइन, हामी नेपाली पनि होइन भने कहाँ जाने,’ मधुकरले भने, ‘यस्तो दुःखमा हामीलाई सोधिदिने कोही छैन। आज तपाईंहरूले उपचारको कुरा सोचिदिँदा अरू केही वर्ष बाँच्ने रहेछौं जस्तो लागेको छ।’

भुटानी राजबन्दीलाई सुनेपछि राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, मानव अधिकारकर्मीलगायतले आफूहरूको ध्यानाकर्षण भएको बताए। ‘नेपाली भएर आज यहाँ बसिरहँदा एकदम लज्जाबोध भएको छ,’ मानवअधिकार अभियन्ता चरण प्रसाईले भने, ‘नेपाल सरकारको अवस्था यस्तो हुनु हुँदैन।’

झापाका प्रमुख जिल्ला अधिकारीले शरणार्थीलाई सहयोग दिन बन्द गरिसकेको भन्ने गैरजिम्मेवार जवाफ दिएकाप्रति आपत्ति प्रकट गर्दै उनले भने, ‘यस्तो सहयोग नदिने निर्णय कहिले भएको हो? यसमा गृहमन्त्रीलाई जवाफदेही बनाऔं।’

अर्का अधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘भुटान आततायी, निरंकुश देश हो, अन्तर्राष्ट्रिय कानुनअनुसार कसैलाई पनि देश निकाला गर्न पाइँदैन। उहाँहरूलाई भुटानले दिएको चिठीबाट पनि देश निकाला गरेको देखिएको छ।’

नेपाली समाजमा समभाव मर्दै गएको उल्लेख गर्दै अर्का अधिकारकर्मी टीका ढकालले नेपाल आएका भुटानी राजबन्दीका निम्ति बासको समस्या हुन नहुने बताए। भुटानी शरणार्थीलाई विगतमा आफ्नै देशमा फर्काउन अन्तर्राष्ट्रिय समुदायले भूमिका निर्वाह गर्न नसकेका कारण आज पनि समस्या जस्ताको तस्तै रहेको बताए।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले अब ‘राजबन्दी’का रूपमा उनीहरूलाई व्यवहार गर्नुपर्ने बताए। ‘नेपाल निरन्त यस मुद्दामा लाचार रहेको छ,’ पत्रकार कनकमणि दीक्षिले भने। भुटानी राजबन्दीबारे खुलासा गर्ने पत्रकार देवेन्द्र भट्टराईले प्रश्न गरे, ‘राज्य कहाँ छ?’ उनका अनुसार अझै ३४ जना राजबन्दी भुटानी जेलमा छन्।

भुटानी शरणार्थी शिविर बेलडाँगीका शरणार्थी व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले मानवीय नाताले उनीहरूलाई सहयोग पु¥याए पनि सरकारको नीतिका कारण परिचयविहीन अवस्थामा रहेको पीडादायी अवस्था उजागर गरे।

प्रकाशित: ५ श्रावण २०८१ ०७:४९ शनिबार

#Bhutanese Rajbandi in Neglect #Solving the problem