राजनीति

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

पत्रकार सम्मेलनमा बोल्दै नेता नेपाल । तस्बिर : टंक क्षेत्री

सर्लाही – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

विहीबार बिहान प्रेस चौतारी नेपाल सर्लाहीद्वारा घुर्कौलीमा आयोजित पत्रकार सम्मान एवं भेटघाट कार्यक्रममा बोल्दै नेपालले २ नं. प्रदेशको आर्थिक समृद्धिका लागि शिखर सम्मेलनको तयारी भइरहेको जानकारी दिएका हुन् । ‘अब म काठमाडौं फर्कने बित्तिकै विज्ञहरूसँग सल्लाह गर्दैछु’, उनले भने, ‘केही समय भित्रै २ नं. प्रदेशको आर्थिक समृद्धिका लागि आर्थिक शिखर सम्मेलन आयोजना गर्दैछु।’

८ वटै जिल्लाबाट उद्यमी व्यवसायी, वुद्धिजिवी एवं विज्ञ, पार्टीका नेता तथा सांसद् र मिडिया प्रतिनिधिहरूको सहभागितामा प्रदेश भित्रैको कुनै स्थानमा शिखर सम्मेलन गर्ने तयारी भइरहेको उनले प्रस्टयाए । ‘सम्मेलनले प्रदेश समृद्धिका लागि सम्भावना र चुनौतीबारे छलपल गर्दै एउटा बाटो तय गर्नेछ’उनले भने, ‘त्यस्तो सम्मेलन सर्लाही जिल्लाले पनि आयोजना गर्न सक्छ ।’ सम्मेलनले प्रदेश भित्रका कृषि उद्यम, उद्योग व्यापार, पर्यटन क्षेत्रको सम्भावना र चुनौतीबारे व्यापक बहस गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको बारेमा समेत विशेष सम्बोधनगर्ने उनले जानकारी दिए। आम नेपालीहरूबीचको आन्तरिक एकता मजबुत बनाउँदै विकास निर्माणलाई तिब्रता दिनु नै अबको पहिलो प्राथमिकता भएको पूर्वप्रधानमन्त्री नेपालको विचार थियो।
अर्को छुट्टै प्रसंगमा नेता नेपालले हाल नेकपा एमाले भित्र कुनै गुट उपगुट नरहेको दाबी गरे। एमाले भित्रै कायम रहिरहेको र माओवादीसँग एकता हुँदा गुट उपगुटको अवस्था झन विकराल त हुने हैन भन्ने संचारकर्मीको प्रश्नमा नेता नेपालले भने, ‘हैन–हैन यो तपाई मिडियाहरू नाक, कान, आँखा जस्ता अंग मात्र हेर्नुहुन्छ, हाँमी त सिंगो शरीरमा ध्यान दिइरहेका छौं ।’यो साता भित्रै माओवादीसँग पार्टी एकता भइसक्ने दाबी गर्दै नेता नेपालले भने, ‘रात रह्यो, अग्राख पलायो भन्छन्, त्यसैले किन ढिला गर्नु ?’

यसैबीच नेता नेपालले सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रममा सहभागी भई कक्षा ११ र १२ एवं स्नातक तहमा अध्ययनरत छात्रवृत्ति पाउने १९३ जना विद्यार्थीलाई अबिर लगाएर स्वागत गरे । ८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको स्ववियु सभापति प्रज्वल ढुंगानाले जानकारी दिए।

प्रकाशित: १५ चैत्र २०७४ ०६:०२ बिहीबार

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने