राजनीति

नवनियुक्त कानुनमन्त्री चौरसियाद्वारा पदबहाली

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन। पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए।

‘कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ’, मन्त्री चौरसियाले भने।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरो हुन । उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित भए । उनीसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उनी २०६२÷६३ को जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बसेका थिए। उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत छन् ।  

प्रकाशित: ३१ असार २०८१ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App