राजनीति

ओली सरकारमा ११ जना नयाँ अनुहार

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नियुक्त गरेका २१ मध्ये ११ जना मन्त्री नयाँ अनुहारका रहेका छन्।

नेपाली कांग्रेसले सरकारमा पठाएका १० मध्ये ७ जनालाई पहिलो पटक मन्त्री बनाएको हो।

कांग्रेसबाट आरजु राणा देउवा (परराष्ट्र), प्रदीप पौडेल (स्वास्थ्य), रामनाथ अधिकारी (कृषि), तेजुलाल चौधरी (खेलकुद), बद्री पाण्डे (पर्यटन), अजयकुमार चौरासिया (कानुन) र ऐनबहादुर शाही ठकुरी (वन) मन्त्री बनेका छन्।

यस्तै एमालेले पठाएका ८ मध्ये चार जना नयाँ छन्। देवेन्द्र दाहाल (भौतिक पूर्वाधार), विद्या भट्टराई (शिक्षा), मानवीर राई (रक्षा) र राजकुमार गुप्ता (सामान्य प्रशासन) मन्त्री बनेका छन्।

एमालेले पठाएका दामोदर भण्डारी भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए। ओली सरकारमा पनि उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ।

विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र बलराम अधिकारीले यसअघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। 

प्रकाशित: ३१ असार २०८१ १३:५८ सोमबार

#Ministry #Prime Minister Kp Sharma Oli