राजनीति

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन्। सोमवार काठमाडौंमा ठमेल पर्यटन विकास परिषद्को २८ औं र २९ औं साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले दक्ष र कामकाजी शक्ति बाहिरिँदा दिनप्रति दिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना भएको बताए। परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु उत्तम उपाय भएको उनको भनाइ छ।

उनले भने, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो। दक्ष र कामकाजी शक्ति बाहिरिँदा हामी दिनप्रतिदिन परनिर्भर बन्दै जाने अवस्था सिर्जना हुन थालेको छ। त्यसलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु निकै उत्तम उपाय हो भन्ने लाग्छ। त्यसैले अब हाम्रो ध्यान युवाहरुलाई विदेश जान रोक्न नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याइ पर्यटन उद्योगको विकास गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। मलाई लाग्छ ठमेल पर्यटन क्षेत्रका रुपमा एक अद्वितीय स्थान हो। जसले सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक प्रतिष्ठा प्राप्त गरेको छ।’

यस्तै,उनले पर्यटकीय केन्द्र ठमेललाई विश्वस्तरमा थप परिचित गराउन सफा, सुरक्षित र व्यवसायिकमैत्री बनाउने गरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। ठमेलमा पर्यटकको वृद्धि गर्न र समृद्ध, सफा र सुरक्षित ठमेल बनउन सबैको साझा पहल जरुरी रहेको उनको भनाइ छ। 

प्रकाशित: ३१ असार २०८१ १०:०० सोमबार

#Narayan Prasad Dahal #President-National-Assembly